Sajha Boli :: Nepal’s Reliable Digital Newspaper
सचिवालयले भन्यो : प्रधानमन्त्रीको नाममा स्वीस बैंकमा पैसा छैन, भ्रम फैल्याईयो

काठमाण्डौं - प्रधानमन्त्री केपी शर्मा ओलीको नाममा स्वीस बैंकमा ५.५ मिलियन अमेरिकी डलर जम्मा भएको समाचारको उनको सचिवालयले खण्डन गरेको छ । प्रधानमन्त्रीका प्रेस सल्लाहाकार सुर्य थापाले उक्त समाचारमा कुनै सत्यता नरहेको भन्दै खण्डन गरेका हुन् ।

सल्लाहाकार थापाले आफ्नो फेसबुक पेजमा प्रेस नोट लेख्दै ग्लोबल वाच एनालाइसिसको हवाला दिदैं केही नेपाली अनलाइनहरूले छापेको समाचारमा कुनै सत्यता नरहेको बताएका छन् । ग्लोबल वाच एनालाइसिसलाई उदृत गर्दै नेपालका संचामाध्यमहरुमा स्वीस बैंकमा प्रधानमन्त्रीको ५.५ मिलियन अमेरिकी डलर जम्मा भएको समाचार सार्वजानिक भएको थियो । 

ग्लोबल वाच एनालाइसिसको हवाला दिदैं केही नेपाली अनलाइनहरूले गैरजिम्मेवारीपूर्ण र बदनियतका साथ गरिररहेको अत्यन्त भ्रामक, गलत र चरित्रहत्या गर्न लक्षित झूठो सम्रेषणप्रति हाम्रो ध्यानाकर्षण भएको थापाले उल्लेख गरेका छन् ।

थापाले भनेका छन्, स्वीस बैंकमा खाता र ५.५ मिलियन अमेरिकी डलर जम्मा रहेको वा यस्तै व्यहोराका तथाकथित रिपोर्ट शतप्रतिशत गलत र कपोलकल्पित रहेकाु स्पष्ट गर्दछुु । जुनसुकै दुर्नियतका साथ तयार गरी सम्प्रेषित यस्ता तथ्यहीन सामग्रीहरूलाई आधार मानेर समाचार बनाई नेपाली जनतामा भ्रम छर्न र प्रधानमन्त्रीज्यूलाई बदनाम गर्न उद्यत यस्ता कतिपय संचारमाध्यमहरूको रवैया खेदजनक छ, उक्त पोष्टमा भनिएको छ ।

थापाको पोष्टमा अगाडी भनिएको छ, राष्ट्रिय हितको रक्षा, सीमा अतिक्रमणविरूद्द नयाँ नक्सा प्रकाशनको साहसिक कदम र सर्वसम्मतिद्वारा संविधान संशोधनजस्तो महत्वपूर्ण निर्णयमा सिंगो राष्ट्रलाई एकताबद्द गर्दै प्रधानमन्त्रीज्यूले राष्ट्रको नेतृत्व सम्हालिरहनु भएको निकै संवेदनशील बेलामा बदनाम गराउन यस किसिमले सुनियोजित षडयन्त्र गर्ने अनेकन् तत्वहरू सक्रिय रहेको प्रष्ट नै छ । आम नेपालीहरूलाई दुष्प्रचारको भ्रममा नपर्न पनि थापाले आव्हान गरेका छन् ।

सम्बन्धित निकायहरूले पत्रकारिताको न्यूनतम जवाफदेहिता, जिम्मेवारीबोध र सामाजिक मर्यादा एवं शिष्टाचारविपरित कार्यमा संलग्न व्यक्ति र संस्थाहरूमाथि कडा कारबाही गर्न पनि थापाले माग गरेका छन् ।

प्रकाशित मिति: बुधबार, असार ३१, २०७७  १०:३१
प्रतिक्रिया दिनुहोस्
Weather Update