काठमाडौँ — बहुमूल्य जडीबुटी यार्चागुम्बु संवेदनशील (जोखिम–उन्मुख) प्रजातिको सूचीमा परेको छ । अन्तर्राष्ट्रिय प्रकृति संरक्षण संघ (आईयूसीएन) ले १५ वर्षयता अत्यधिक संकलनका कारण यार्चा उत्पादनमा ३० प्रतिशतले ह्रास आएको भन्दै संवेदनशील सूचीमा राखेको हो ।
नेपाल आईयूसीएनको सदस्य मुलुक हो । त्यसकारण नेपालले उसले दिएको चेतावनीलाई नीति–निर्माण तहमा कार्यान्वयन गर्नुपर्ने हुन्छ । यसै साता आईयूसीएनले विभिन्न प्रजातिको रेड लिस्ट (रातो किताब) मा यार्चागुम्बुलाई संवेदनशील सूचीमा राखिएको हो ।
आईयूसीएनको एसएससी फंगल कन्जर्भेसन कमिटीका अध्यक्ष प्राध्यापक ग्रेगोरी मुएलरले यार्चालगायत प्रजातिमध्ये संवेदनशील अवस्थामा पुगेकाले दिगो संकलनको विधिका कार्यक्रममा जोड दिनुपर्ने बताए । नेपालका पश्चिमी क्षेत्रमा यार्चा जीविकोपार्जनको मुख्य स्रोतमध्ये एक हो । जानकारहरुका अनुसार नेपालमा अवैज्ञानिक हिसाबले यार्चा संकलन हुँदै आएको छ ।
वन तथा वातावरण मन्त्रालयका प्रवक्ता सहसचिव सिन्धुप्रसाद ढुंगानाले आईयूसीएनको प्रतिवेदनलाई सुझावका रूपमा लिँदै कार्यान्वयनका लागि पहल गरिने बताए ।
अन्य मुलुकमा भने वर्ष बिराएर यार्चा संकलन गरिन्छ । नेपालको अधिकांश यार्चा चिनियाँ बजार र सिंगापुरमा निर्यात हुँदै आएको छ । व्यवसायीहरुका अनुसार प्रतिकिलो ४० लाखसम्म पुगेको यार्चाको मूल्यमा केही वर्षयता भने गिरावट आएको छ । सरकारले प्रतिकिलो यार्चामा ३० हजार रुपैयाँ राजस्व तोकेको छ ।