Sajha Boli :: Nepal’s Reliable Digital Newspaper
विकासे राजनीति : दोलखाका ठुला योजनाहरुमा जस लिनेदिने होड

३ फागुन, दोलखा । बागमती प्रदेश सरकारको लगानीमा दोलखाको सितली—मेलुङ—बुद्धचोक—भैसे सडक अन्तर्गतको साँढे ११ किलोमिटर खण्ड स्तरोन्नती हुने निश्चित भएको छ । त्यसका लागि पूर्वाधार विकास कार्यालय सिन्धुपाल्चोकले शुक्रवार मात्रै टेन्डर समेत आव्हान गरिसकेको छ । झण्डै २६ करोड रुपैँया लागतमा उक्त सडकको स्नरोन्नती हुने भएपछि जिल्ला स्थित नेकपा नेता कार्यकर्ताहरुमा भने जस लिनेदिने होड्बाजी सुरु भएको छ ।

प्रत्यक्ष जनतासँग जोडिएको ठुला योजना भएकाले सत्तारुढ दल नेकपाकै नेता कार्यकर्ताहरु आफ्ना गुटका नेतालाई जस दिने विषयमा विभाजित भएका हुन् । सामाजिक संजालमा उनीहरुले आफु निकटका नेताको पहलमा योजना आएको भन्दै प्रचार र प्रशंसा गरेका गरेका छन् । सितली—मेलुङ—बुद्धचोक—भैसे सडक मेलुङ गाउँपालिकाकै लाईफलाईन सडकको रुपमा लिईन्छ ।

गाउँपालिका अध्यक्ष नर बहादुर श्रेष्ठले उक्त सडक स्तरोन्नतीका लागि मुख्यमन्त्री डोरमणी पौडेल, प्रदेश अर्थमन्त्री कैलाश ढुंगेल र कृषिमन्त्री दावादोर्जे लामाको मुख्य भुमिका रहेको बताए । साथै वाँकी सडक खण्डको स्तरोन्नतीका लागि प्रदेश र संघीय सरकारसँग आग्रह गरिएको जानकारी अध्यक्ष श्रेष्ठले दिए ।

नेकपा जिल्ला सचिवालय सदस्य समेत रहेका वडा अध्यक्ष एवं गाउँपालिका प्रवक्ता हिरा थोकरले पनि मुख्यमन्त्री, अर्थमन्त्री, कृषि मन्त्री, गाउँपालिका अध्यक्ष र जिविस पुर्व उपसभापति शिव भण्डारीको पहलमा सडकको स्तरोन्नती हुन लागेको बताए । उनले सामाजिक संजालमा लेखेको स्टाटसमा यो पटक चाँही विस्वासघातीहरुको केही नलागेको भन्दै व्यंग्य गरेका छन् । उनको व्यंग्य को प्रति लक्षित हो, त्यो भने खुलाएनन् ।

यता बाग्मती प्रदेश दोलखा १ नम्बर निर्वाचन क्षेत्रबाट निर्वाचित सांसद विशाल खड्काले आफु निकटस्थहरुसँग आफ्नो विशेष पहलमा सडकको स्तरोन्नती हुन लागेको बताएका छन् । उक्त सडक योजना आफ्नो निर्वाचन क्षेत्र अन्तर्गतको भएकाले सांसद खड्काको विशेष पहल रहेको उनी निकटस्थहरुको भनाई छ । नेकपा जिल्ला सचिवालय सदस्य धर्मेन्द्र मोक्तानले सामाजिक संजालमा सांसद खड्काको पहलमा सडकको स्तरोन्नती हुन लागेको धारणा राख्दै धन्यवाद दिएका छन् ।

आव्हान गरेको टेन्डर अनुसार सम्झौतापछि १८ महिनामा सडकको ग्राभेल र सोलिङ लगाएत स्तरोन्नतीको काम हुनेछ । जिल्लाका अन्य महत्वपुर्ण सडक लगाएत पुर्वाधार विकासका आयोजनाहरुमा पनि नेता कार्यकर्ताहरुबीच जस लिने प्रवृत्ती देखिएको छ ।

प्रकाशित मिति: सोमबार, फागुन ५, २०७६  २१:१४
प्रतिक्रिया दिनुहोस्
Weather Update