चरिकोट - दोलखा र रामेछापमा पर्ने खिम्ति १ जलविद्यूत आयोजनाको ५० प्रतिशत स्वामित्व शुक्रवारदेखि सरकार मातहत आएको छ । आधा स्वामित्व सरकारको हातमा आएसँगै उक्त आयोजनाबाट प्राधिकरणले व्यहोर्दै आएको अर्बौको घाटा अन्त्य हुनेछ । ६० मेगावाट क्षमताको आयोजनाको विवादित विद्युत खरिद बिक्री सम्झौता (पिपिए) का कारण प्राधिकरणले बार्षिक झण्डै २ अर्ब रुपैंया घाटा व्यहोर्दै आएको थियो ।
सरकारलाई तिर्नुपर्ने वार्षिक ४० करोड रुपैयाँ रोयल्टी पनि प्राधिकरण आफैँले तिर्नुपर्ने बाध्यता थियो । शुक्रवार सम्झौताको २० वर्ष पुगेका कारण आयोजना प्रवद्र्धक कम्पनी हिमाल पावर कम्पनीले ५० प्रतिशत स्वामित्व सरकारलाई हस्तान्तरण गर्न लागेको हो । खिम्ति विदेशी लगानी र निजी क्षेत्रको पहिलो जलविद्युत आयोजना हो । सम्झौतामा २० वर्ष पुगेपछि खिम्तिको ५० प्रतिशत स्वामित्व प्राधिकरणले पाउने र पिपिए दर संसोधन हुने उल्लेख छ ।
प्राधिकरणका एक अधिकारीले प्रतियुनिट ९ रुपैयाँ देखि २२ रुपैयाँसम्म मूल्य लिँदै आएको खिम्तिसँग अब अहिलेको चलनचल्तीको दरमा नबढ्नेगरि मात्रै नयाँ पिपिए हुने बताए । उनका अनुसार अब हिमाल पावर कम्पनी र विद्युत प्राधिकरणको संयुक्त साझेदारीमा कम्पनी स्थापना हुने र कम्पनीले नै रोयल्टी तिर्ने देखि मर्मत सम्भार र सञ्चालन खर्च ब्यहोर्नेछ ।
डलर पिपिए खारेज गरेर अहिलेको चलनल्तीमा रहेको पिपिए दर खिम्तीलाई पनि लागु हुने हुँदा वर्षायाममा प्रति युनिट ४.८० रुपैयाँ र सुख्खा याममा प्रतियुनिट ८.४० रुपैयाँ भन्दा नबढ्ने गरी खिम्तिको नयाँ पिपिए हुने बताईएको छ ।
वार्षिक औसत १५/१६ रुपैयाँ युनिटमा खिम्तीको विद्युत किनेर १० रुपैयाँ युनिटमा प्राधिकरणले बेच्दै आएको थियो । खिम्तीले वार्षिक ४र५ अर्ब रुपैयाँ कमाउँदा प्राधिकरणलाई भने सोझै दुई अर्ब रुपैयाँ नोक्सान हुने गरेको थियो। अब भने नयाँ पिपिए दरपछि खिम्तीको वार्षिक आम्दानी दुई अर्ब रुपैयाँ मात्रै हुनेछ । दुई अर्ब रुपैयाँ नोक्सान शून्यमा झार्दै ५० प्रतिशत स्वामित्वको एक अर्बको विद्युत पनि प्राधिकरणकै हुने भएपछि प्राधिकरणले तीन अर्ब रुपैयाँ यो आयोजनाबाट जोगाउने छ ।
सुख्खा याममा प्रति युनिट २२ रुपैयाँ सम्म मूल्य तिर्दै आएको खिम्तीको विद्युत अव प्राधिकरणले अन्य आयोजना सरह प्रति युनिट ४.८० रुपैयाँ र ८.४० रुपैयाँमै पाउने छ । अमेरिकामा महंगी बढेपनि नबढेपनि खिम्तीको विद्युतको मूल्य बढ्ने छैन । यस अघिको सम्झौतामा अमेरिकामा महंगी बढ्दा खिम्तीको विद्युतको मूल्य बढाउनुपर्ने उल्लेख थियो । त्यसै कारण उसको विद्युतको मूल्य प्रति युनिट २२/२३ रुपैयाँ सम्म पुग्ने गरेको अधिकारीहरुको भनाई छ ।