काठमाण्डौं - संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री योगेश भट्टराईले नेपालका लागि चिनियाँ राजदुत होउ यान्छीको बचाउ गरेका छन् । नेकपाभित्र चर्किको बिवादका बीच राजदुत होउले देखाएको सक्रियताप्रति चौतर्फी आलोचना भैरहेका बेला मन्त्री भट्टराईले उनको बचाउ गरेका हुन् ।
नेपालबारे भारत र चीनको भूमिकालाई ४ बुँदामा सांकेतिक रुपमा उल्लेख गर्दै मन्त्री भट्टराईले बिदेशी राजनीतिक तथा कुटनीतिक सोही सन्दर्भबाट हेर्नुपर्ने तर्क गरेका छन् ।
सामाजिक संजालमा स्टाटस लेख्दै उनले भनेका छन्, ‘कसैको कुरा सुन्नु राम्रो हो, मान्ने नमान्ने अधिकार हाम्रो हो ।’
चिनियाँ राजदुत यान्छीले नेकपा बिवाद उत्कर्षमा पुगेका बेला बरिष्ठ नेताहरु माधव कुमार नेपाल, झलनाथ खनाल लगायतका शिर्ष नेताहरुसँग भेटघाट गरी चासो देखाएकी थिईन् । भारत र चीनको भूमिका बारे ४ बुँदामा उनले तुलना गरेका छन् ।
१. संविधान बनाउने बेलामा असफल पार्न खोज्नु ठिक वा संविधान निर्माणप्रति सद्भाव राख्नु ठिक ?
२. पहिलो र दोस्रो संविधानसभाको बेलामा तराई र पहाड, जाति जनजातिको सामान्य अन्तरविरोधलाई चर्काएर नेपालमा बिग्रह ल्याउन प्रयत्न गर्न ठिक वा त्यसलाई हल गर्न र नेपाल र नेपालीको एकताप्रति सद्भाव राख्नु ठिक ?
३. नेपालमाथि नाकाबन्दी लगाएर हायलकायल पार्न खोज्नु ठिक वा त्यो गलत हो, नेपाल र नेपालीलाई बाँच्न देउ भन्नु ठिक ?
४. पार्टी। पार्टी र पार्टीभित्रको अन्तरविरोधमा घ्यू थपेर नेपालको लोकतन्त्रलाई कमजोर बनाउनु र अस्थिरता सिर्जना गर्नु ठिक वा सबै पार्टीबीचमा राम्रो एकता बनाउँदै नेपालको समृद्धिप्रति सद्भाव राख्नु ठिक ?