काठमाण्डौं - मास्क नलगाई बाहिर निस्किने व्यक्तिलाई पक्राउ गर्न गृह मन्त्रालयले निर्देशन दिएको छ । ७७ वटै जिल्ला प्रशासन कार्यालयहरुलाई परिपत्र गर्दै मन्त्रालयले सामाजिक दुरी कायन नगर्ने र मास्क नलगाई घरबाहिर निस्किनेलाई तत्काल पक्राउ गर्न निर्देशन दिएको हो ।
प्रशासन र प्रहरीलाई गरिएको परिपत्रमा निर्देशन उल्लंघन गर्नेलाई संक्रमक रोग नियन्त्रण ऐन अनुसार कारबाही गर्न भनिएको छ । गृहका सहप्रवक्ता उमाकान्त अधिकारीले लकडाउनलाई खुकुलो बनाउने नीति अबलम्वन गरिएपनि सर्वसाधारणसहित सरकारी, निजी तथा गैरसरकारी संघसंस्था र कार्यालयले यसको उल्लंघन गरेकोले तत्काल कडाइका साथ पछिल्लो निर्देशन दिनुपरेको हो ।
‘स्वास्थ्य मापदण्ड पालना नगर्दा राजधानी नै संक्रमणको उच्च जोखिममा रहेको देखिएकोले कडाईपुर्वक कार्यान्वयन गर्न प्रशासन र प्रहरीलाई परिपत्र गरिएको हो, ‘निर्देशन उल्लंघन गर्नेलाई पक्राउ र जरिवाना सम्मको कारबाही हुन्छ’ उनले भने ।
सरकारले असार १ गतेबाट लागू हुनेगरी लकडाउन खुकुलो बनाएपछि सडक र बजार, कलकारखानामा मास्क र सेनिटाइजर प्रयोग र सामाजिक दूरी पालना नगर्ने प्रवृत्ति बढ्दै गएको छ ।