Sajha Boli :: Nepal’s Reliable Digital Newspaper
कक्षा ११ को बोर्ड परीक्षा नहुने, आन्तरिक मूल्यांकनलाई आधार मान्ने निर्णय

काठमाडौँ — कोरोना भाईरस् (कोभिड १९) का कारण यस वर्ष कक्षा ११ को बोर्ड परीक्षा नहुने भएको छ । विद्यालयले गरेको आन्तरिक परीक्षाका आधारमा विद्यार्थीलाई प्रमाणपत्र दिने निर्णय पाठ्यक्रम विकास तथा मूल्यांकन परिषद्ले गरेको हो ।

परिषदका अधिकारीहरुका अनुसार विद्यार्थीको आन्तरिक मूल्याङ्कन कसरी गर्ने भन्ने बारे कार्यविधि बनाउने जिम्मेवारी राष्ट्रिय परीक्षा बोर्डलाई दिईएको छ । पाठ्यक्रम विकास केन्द्रका प्रवक्ता गणेशप्रसाद भट्टराईले कोरोना संक्रमणका कारण बोर्डले लिने परीक्षा यसपटकलाई रद्ध गर्ने निर्णय गरिएको बताए ।

उनका अनुसार बोर्डले कार्यविधि बनाएपछि सम्बन्धित विद्यालयले सोही अनुसार विद्यार्थीलाई अंक प्रदान गर्नेछन् । कक्षा १० अर्थात एसईई पनि आन्तरिक मूल्याङ्कनको आधारमा विद्यालयले अंक दिने, शिक्षा विकास तथा समन्वय इकाईले सिफारिस गर्ने र बोर्डले प्रमाणित गरी प्रमाणपत्र दिने व्यवस्था गरिएको छ ।

कक्षा ११ को पनि बोर्डले नै कार्यविधि बनाउने भनिएको छ । कक्षा ११ को परीक्षा दिएपछि विद्यार्थी स्वतः १२ कक्षामा पढ्न पाउने व्यवस्था अहिले पनि छ । कक्षा १२ को विषयमा भने अहिलेसम्म कुनै पनि निर्णय भएको छैन । १२ कक्षा विद्यालय तहको अन्तिम कक्षा भएकाले अनुकुल समयमा बोर्ड परीक्षा नै सञ्चालन गरिने शिक्षा मन्त्रालयले बताउँदै आएको छ ।

एसईईको नतिजा प्रकाशनका लागि विद्यार्थीले आन्तरिक मूल्याङनमा प्राप्त गरेको अंक संकलनको काम भइरहेको छ । असार मसान्तभित्र देशभरबाट बोर्डमा अंक प्राप्त भएपछि साउन १५ सम्म नतिजा सार्वजनिक गर्ने लक्ष्य लिइएको छ ।

प्रकाशित मिति: आइतबार, असार २१, २०७७  १३:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update