काठमाडौं - नेकपाका दुई अध्यक्ष पार्टीभित्र चुलिएको बिवाद समाधानको प्रयासमा जुटेका छन् । प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बालुवाटारमा भेटवार्ता जारी छ । भोली स्थायी कमिटी बैठक बस्नुअघि दुई अध्यक्षले बिवाद समाधानको अधिकतम प्रयास हुने बताईएको छ ।
प्रधानमन्त्रीको स्वेच्छाचारी शैलीका कारण सरकार र पार्टी अलोकप्रिय बन्दै गएको भन्दै स्थायी कमिटीका अधिकांश सदस्यहरुले राजीनामा मागेपछि नेकपाभित्र अन्तरसंघर्ष चर्किएको छ । प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवै पद नत्याग्ने ओलीको अडान छ ।
प्रचण्ड, नेपाल र खनाल समुहलेपनि कुनैपनि हालतमा प्रधानमन्त्रीले पद छाड्नुपर्ने अडान लिएको छ । यसअघि दुई अध्यक्षबीच भएको बार्ता बिना उपलब्धी त्यत्तिकै टुंगिएको थियो । आईतवार (आज) अधिकतम सहमतिको प्रयास गर्ने भनिएपनि दुबै पक्षको अडान कायम रहेकाले ठोस प्रगति हुनेमा शंका छ ।
प्रधानमन्त्री ओलीले आफु र राष्टपतिलाई हटाउन लागिएको भन्दै शनिवार साँझ मन्त्रीहरुलाई बोलाएर पोजिसन क्लियर गर्न चेतावनी दिएका थिए । संसद अधिवेशन अन्त्य गरेर ४० प्रतिशत सांसदभन्दा कमले पनि दल विभाजन गर्न सक्ने व्यवस्थासहितको अध्यादेश ल्याउने गृहकार्यमा लागेर ओलीले पार्टी फुटाउन खोजेको चर्चा छ ।