काठमाडौं - नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठ (प्रकाश) ले महाअभियोग प्रस्ताव ल्याउने भनेर राष्ट्रपतिलाई बिवादमा तान्न खोजिएको दाबी गरेका छन् । आफ्नो स्वार्थका लागि झुठो प्रचार गरिएको उनले बताए ।
सामाजिक सन्जाल ट्वीटर मार्फत उनले अनर्गल प्रचार नगर्न र राष्ट्रपतिलाई विवादमा नतान्न आग्रह गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीहरुसँगको छलफलमा आफूलाई प्रधानमन्त्री पदबाट हटाउने र राष्ट्रपतिविरुद्ध महाअभियोग लगाउने षडयन्त्र भैरहेको बताएपछि प्रवक्ता श्रेष्ठले यस्तो बताएक हुन् ।
‘राष्ट्रपतिको विरुद्ध महाअभियोग प्रस्ताव ल्याउने अनर्गल झुठा प्रचार कसैले नगरौं । राष्ट्रपति संस्थाको अवमुल्यन नगरौं ।’ श्रेष्ठले भनेका छन् । राष्ट्राध्यक्ष राष्ट्रपति जस्तो सम्मानित र गरिमामय संस्थालाई स्वार्थका लागि बिवादमा तान्नु दुखद भएको र झुठो प्रचारमा राष्ट्रपति स्वयंको पनि ध्यान जाने विश्वास व्यक्त गरेका छन् ।