Sajha Boli :: Nepal’s Reliable Digital Newspaper
माथिल्लो तामाकोसी आयोजनाबाट ३ महिनाभित्र परीक्षण उत्पादन सुरु गर्ने तयारी

दोलखा — ४ सय ५६ मेगावाट क्षमताको माथिल्लो तामाकोसी जलविद्यूत आयोजनाबाट आगामी ३ महिना भित्र विद्युतको परीक्षण उत्पादन थाल्ने तयारी भएको छ । आयोजना व्यवस्थापनका अनुसार जटिल मानिएको पेनस्टक पाइप जडानको काममा सफलता मिलेसँगै परीक्षण उत्पादनको तयारी थालिएको हो ।

आयोजना प्रमुख विज्ञान श्रेष्ठले आयोजनामा जडान गर्न बाँकी रहेको माथिल्लो पेनस्टक पाइपको सम्पन्न भैसकेको र तल्लो पेनस्टक पाइप जडानको काम करिब एक सय मिटर बाँकी रहेको बताए ।

तल्लो पेनस्टक पाइप जडानको काम आगामी डेढ महिनामा सकेर परीक्षण सुरु गर्ने तयारी छ । ‘पेनस्टकको काम सकिएपछि परीक्षण गर्न अन्तर्राष्ट्रिय परामर्शदाता कम्पनी र ठेकेदार कम्पनीका विज्ञ पनि आउनुपर्छ,’ उनले भने, ‘कोभिड–१९ महामारीले प्रभावित नपारे २ महिनामा परीक्षण सुरु हुन्छ ।’ उनका अनुसार कुनै कारण अवरोध नभए आगामी तीन महिनामा आयोजनाले परीक्षण उत्पादन सुरु हुनेछ ।

३ सय ११ मिटर लम्बाइ रहेको माथिल्लो पेनस्टक स्याफ्टमा पेनस्टक पाइप जडानको काम र ३ सय ३२ मिटर लम्बाइ रहेको तल्लो पेनस्टक स्याफ्टमा पाइप जडानको काम सबैभन्दा जटिल मानिएको थियो ।

यसअघि असारसम्ममा आयोजनाको पहिलो युनिटबाट विद्युत् उत्पादन सुरु गर्ने लक्ष्य थियो । ठेकेदारको ढिलासुस्ती र पेनस्टक पाइपको जडानमा भएको समस्याले आयोजना सम्पन्न हुने मिति पटक–पटक संशोधन हुँदै आएको छ ।

०६५ चैतमा आयोजनाका लागि ३५ अर्ब २९ करोड रुपैयाँ लागत अनुमान तयार गरिएको थियो । ६ वर्षमा आयोजना निर्माण हुने अपेक्षासहित तयार पारिएको अनुमानमा निर्माण अवधिको ब्याज साढे १३ अर्ब हुने उल्लेख थियो । सुरुमा निर्माण अवधिको ब्याजसहित आयोजनाको लागत ४८ अर्ब ७९ करोड हुने अनुमान थियो ।

पूर्णत ः नेपाली लगानीमा निर्माण भइरहेको आयोजनाको लागत बढेर ७० अर्ब नाघ्ने अनुमान छ । ढिलाइले निर्माण अवधिको ब्याज साढे ६ अर्ब थपिने र कुल लागतमा साढे २० अर्ब थपिने संशोधिन अनुमान गरिएको छ । सरकारले हालसम्म आयोजनाका लागि १२ अर्ब दीर्घकालीन ऋण लगानी गरेको छ ।

महँगी, विदेशी मुद्राको विनियम दरमा आएको परिवर्तन र आयोजनाको ढिलाइका कारण लागत महँगो हुन गएको आयोजनाले जनाएको छ । पिकिङ रन अफ रिभर प्रकृतिको यो आयोजनाले निर्माण पूरा भएपछि नेपाल ऊर्जामा भारत निर्भर हुनु नपर्ने अनुमान छ ।

 

प्रकाशित मिति: शनिबार, असार २०, २०७७  १३:३७
प्रतिक्रिया दिनुहोस्
Weather Update