Sajha Boli :: Nepal’s Reliable Digital Newspaper
नेकपा फुट्दैन, फुट्न दिर्ईदैन : नेता शर्मा

काठमाण्डौं - नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थायी समिति सदस्य जनार्दन शर्मा प्रभाकरले पार्टी कुनै हालतमा फुट्न नदिईने बताएका छन् । सामाजिक संजालमार्फत आफ्नो धारणा सार्वजानिक गर्दै नेता शर्माले पार्टी नफुट्ने र फुट्न नदिईने बताएका हुन् ।

शनिबारका लागि बोलाइएको स्थायी समिति बैठक स्थगित भएपछि शर्माले यसबीचमा पार्टीभित्र देखिएको बिवाद समाधानका लागि ठोस पहल हुने संकेत गरेका छन् । नेकपाभित्र देखिएको विवाद कम्युनिष्ट आन्दोलन र देशकै समस्याको रूपमा देखिएकाले दुई जना नेताको मात्रै भर परेर नहुने उनको भनाई छ ।

‘नेकपाभित्रको विवादलाई सीमित नेताहरूको समस्याका रूपमा मात्र नहेरौं, यो हाम्रो राष्ट्र, देश र कम्युनिष्ट आन्दोलनको समस्याको रूपमा देखिएको छ,दुई नेताले के गर्लान् भनेर अब हेरेर बस्नु हुँदैन, ’शर्माले भनेका छन् ।

पार्टीलाई एकतावद्ध गरी राष्ट्र र जनताको आवश्यकतामा सञ्चालन गर्न नेता र कार्यकर्तामा गम्भीर जिम्मेवारी आएको औल्याउँदै उनले पार्टीलाई विचार, विधि र पद्धतिबाट विचलित गरी व्यक्तिका स्वार्थपूर्तिको हतियार बन्न दिन नहुने पनि बताएका छन् ।

‘एकता गर्दा गरिएका सहमति, आमजनता र कार्यकर्ताको सुझावका आधारमा तयार हुने सहमतिको नयाँ प्रस्ताव स्वीकार गरी रूपान्तरणसहित नेतृत्व गर्न नेताहरूलाई शर्माले आग्रह गरेका छन् ।

शर्माले भनेका छन्, ‘कार्यकर्ता र जनताको आग्रह अस्वीकार गर्ने अधिकार कुनै नेता विशेषलाई प्राप्त छैन भन्ने कुरा स्मरण गराउन चाहन्छु, ‘सबै नेता, कार्यकर्तालाई पार्टी एकताको पक्षमा योगदान गर्न अपिल गर्दछु । रूपान्तरणसहितको एकता आजको आवश्यकता हो ।’

प्रकाशित मिति: शनिबार, असार २०, २०७७  १२:५७
प्रतिक्रिया दिनुहोस्
Weather Update