दम्पतीबीच मनमुटाव हुन्छ । भनाभन हुन्छ । ठाकठुक पर्छ । यो सामान्य क्रिया हो ।
परिवार चलाउनुपर्ने दायित्वबीच कतिपय कुरामा मतभेत रहन्छ । यस्ता मतभेतलाई कसरी सल्टाउने भन्दा पनि त्यसमा आफु हावी हुन खोज्ने प्रवृत्ति अक्सर श्रीमान्(श्रीमतीमा हुन्छ । यही प्रयासले उनीहरुबीच तनाव पैदा गर्छ । तनावले मनमुटाव । मनमुटावले भनाभन । भनाभनले कुटपिट ।
यी भए दम्पतीका कुरा ।
तर, कुरा उनीहरुमा मात्र सीमित छैन । जब श्रीमान्(श्रीमतीबीच ठाकठुक पर्छ, त्यसको सजाय अबोध बालबालिकामाथि पर्छ । श्रीमान्(श्रीमतीले त एकअर्कासँग आफु कमजोर हुन चाहँदैनन् । हार्न चाहँदैनन् । एउटाले जति चर्को स्वर निकाल्छन्, अर्कोले त्यो भन्दा चर्को । एउटाले जति तोडले पिट्छ, अर्कोले त्यो भन्दा तोडले । एवं रितले उनीहरु आफु ‘सही’ भएको पुष्टि गर्न उद्यत रहन्छन् ।
यतिबेला उनीहरुको दिमागमा एउटै कुरा आउँछ, ‘म सही छु, कसरी उसको अगाडि कमजोर हुन्छु ?’ यसरी आफ्नो हठ र अड्डीले दम्पतीबीचको कलहलाई उत्कर्षमा पुर्याउँछ । उनीहरु बोलचाल गर्दैनन् । एकअर्काको ख्याल राख्दैनन् । जब कुनै बिन्दुमा पुगेर यो समस्या टुंगिदैन, तब यसले भयानक स्थिती पैदा गर्छ । दम्पतीबीच हुने सामान्य मनमुटावले सम्बन्ध विच्छेदसम्मको अवस्था आउँछ । हुनसक्छ, यतिबेला दुबैले ‘मैलें जितें’ भन्ने ठान्छन् । तर, यतिबेला उनीहरुको बालबच्चा हारिरहेका हुन्छन् । आमा र बुवा अलग भइरहँदा उनीहरु मानसिक रुपले विक्षिप्त हुन्छन् । न आमाको माया त्याग्न सक्छन्, न बुवाको सामिप्यता । कति कठिन परिस्थिती !
तर, यो कठिन परिस्थिती केवल बुवा आमा अलग हुँदा मात्र होइन, बेलाबखत गर्ने झगडाबाट पनि बालबालिकाले झेल्नुपर्ने हुन्छ । आमाबुवा झगडा गरिरहँदा बालबालिका एकदम निरिह बन्न पुग्छन् । न उनीहरु बुवाआमाबीच झगडाको कारण पहिल्याउन सक्छन् । न आमाबुवालाई कन्भेन्स गर्न सक्छन् । बालबच्चा चाहन्छन्, ‘मेरो बुवाआमा झगडा नगरे हुन्थ्यो ।’ तर, यो मनोवेगलाई कसरी व्यक्त गर्ने ? उनीहरुले कुनै भेउ पाउन सक्दैनन् ।
त्यही कारण उनीहरुको मनमा कुष्ठा पैदा हुन्छ । त्यही मनोविकारले उनीहरुमा विभिन्न सामाजिक, मानसिक समस्या देखापर्न थाल्छ ।
बुवाआमाको झगडाः बच्चालाई सजाय
बुवा र आमाबीच झगडा हुँदा बालबच्चाले कसको पक्ष लिने ? के भनेर सम्झाउने ? जबाफ सजिलो छैन । उनीहरु केवल यही कामना गर्छन्, बुवाआमा दुबैले एकअर्कालाई माया गरे हुन्थ्यो होला । अर्थात बुवाआमाको झगाड भनेको छोराछोरीको लागि कुनै कठोर सजायभन्दा कम होइन ।
जब बुवा र आमा ठाकठुक पर्न थाल्छन्, उनीहरुलाई बाहिर निस्फिक्री खेल्न मन लाग्दैन । साथीहरुसँग खुलस्त बोल्न मन लाग्दैन । निर्धक्क विद्यालय जान मन लाग्दैन । न रमाइलो गर्न मन लाग्छ, न पढ्न नै । भनौं, उनीहरुलाई यसले मानसिक आघात पुग्छ ।
मनोविज्ञहरु भन्छन्, दम्पतीले छोराछोरीका अगाडि कहिल्यै झगडा गर्नु हुँदैन । जबकी मनको आवेग, रिस पोख्नका लागि कुनै परिधी, परिस्थिती हेरिदैन । जहाँ पनि, जहिले पनि यो प्रकट हुने कुरा हो । त्यसैले दम्पतीबीच झगडा पर्दा उनीहरुले बच्चा नभएको स्थान रोज्छ वा त्यस्तो अनुकुलता खोज्छ भन्ने कुरा व्यवहारिक होइन । बरु, झगडाको प्रवृत्ति नै त्याग्ने वा व्यवस्थापन गर्ने कुरा मूख्य हुनसक्छ ।
बुवाआमाको झगडाः बच्चामा शारीरिक विकृति
मनोविज्ञहरु के पनि भन्छन् भने, झगडालु आमाबुवाको बच्चामा त्यसको एकदमै प्रभाव पर्छ । अक्सर आमाबुवावीच झगडा भइरहँदा त्यसले बच्चामा मानसिक विकार पैदा गर्छ । उनीहरुमा ग्लानी भाव पैदा हुन्छ । डर पैदा हुन्छ । असुरक्षित महसुष हुन्छ । तनाव पैदा हुन्छ । र, क्रमस उनीहरु डिप्रेसनको अवस्थामा पुग्न सक्छन् ।
जबकी यो मनोदसाले उनीहरुको शारीरिक विकास र गतिविधिमा सोझो असर पार्छ । झगडालु आमाबुवाको बच्चा खुलेर बोल्न सक्दैनन् । राम्ररी सुत्न सक्दैनन् । उनीहरु काँतर हुनसक्छन् । यसले हर्मोनमा असन्तुलन ल्याउने, दिसापिसाब छिटोछिटो लाग्ने, चाडै थाक्ने, टाउको दुख्ने जस्ता अतिरिक्त समस्यालाई पनि जन्म दिने मनोविज्ञहरुको भनाई छ ।
मनोविज्ञका अनुसार कुनैपनि व्यक्ति यति मानसिक रुपले विक्षिप्त छन् भने त्यसमा उनले बाल्यकालमा झेलेका खराब परिस्थिती जिम्मेवार हुनसक्छ । बुवाआमाको कलह, झैझगडा झेलेका बच्चाहरु मनोरोगी हुन्छन् ।
बुवाआमाको झगडाः बच्चाको अन्धकार भविष्य
कतिपय अपराधिक मनोवृत्तिको जन्म पनि बुवाआमाको झगाडाबाटै पैदा हुने विभिन्न घटनाहरुले देखाएको छ । किशोर वा युवाअस्थामा आपराधिक गतिविधिमा संलग्न भएकाहरुको पारिवारिक पृष्टभूमी केलाउँदा उनीहरु खराब परिस्थितीबाट गुज्रिएको पाइन्छ ।
दम्पतीबीच झगडा हुनुमा दुबैले पाल्ने अहंम र दुबैको विसंगत व्यवहार हो । आमाबुवाबीच घर(परिवार चलाउने कुरामा मतभेत हुनु, ठाकठुक पर्नु सामान्य हो । यसले उनीहरुलाई थप परिपक्क पनि बनाउँछ । तर, यसको प्रभाव बच्चाहरुमा कसरी पर्न नदिने भन्ने कुरामा सर्तक हुनुपर्छ ।
मनोविज्ञहरु भन्छन्, ‘सधै शान्त रहन र सभ्य व्यवहार गर्न सिकाउने आमाबुवा स्वय्म झगाडा गरेको देख्ने बचचाले रिस उठ्दा हिंस्रक व्यवहार देखाउने गर्छन् । बच्चाहरुको मस्तिष्कमा उनीहरुले चाहेको कुा पुरा हुनैपर्छ भनने कुरा बसेको हुन्छ । कुनैपनि कुरा उनीहरुको चाहनाविपरीत भए बचचाहरु फरक प्रकारको व्यवहार देखाउँछन्, जसको नतिजाले कति पटक हिंस्रक रुप लिन्छ ।’
लामो समयसम्म आमाबुवाको सम्बन्ध सुमधुर नरहँदा पनि त्यसको असर बच्चामा देखिन्छ, त्यो पनि उमेर अनुसार । जस्तो नवजात शिशु भए उनीहरुको मुटुको धड्कन बढ्ने, ६ महिनासम्मको बच्चामा हर्मोनको तनाव महसुष हुने र अलि ठूलो बच्चामा अनिन्द्राको समस्या हुने देखिन्छ ।
त्यसबाहेक मदिरापानले पनि दम्पतीमा कलह ल्याउँछ । खासगरी पुरुषहरु मदिरापानमा बढी लिप्त हुन्छन् । यसले एकातिर घरको व्यायभार बढाउँछ, अर्कोतिर घरभित्र कलहको बिउ रोप्छ । मदिरापान गर्ने बुवाआमा छोराछोरीका लागि टाउको दुखाईको विषय बन्छ ।
अहिले सामाजिक सञ्जाल पनि दम्पतीबीच फाटो ल्याउने माध्याम बनेको छ । फेसबुकको पासवर्डलाई लिएर समेत दम्पतीबीच झगडा हुने गरेको घटनाहरु सतहमा देखिन्छन् । कतिसम्म भने, यही निहुँमा उनीहरुबीच सम्बन्ध बिच्छेद हुने गरेको पाइन्छ ।
त्यसैगरी वैदेशिक रोजगारीले पनि दम्पतीबीचको सम्बन्धमा चिसोपन ल्याएको छ । बुवा वा आमाको अभावमा हुर्किरहेका बच्चाहरु यसैपनि तनावग्रस्त हुने गरेका छन् । त्यसबाहेक बुवा वा आमाको विवाहेत्तर सम्बन्ध हुर्कने अनुकुलता पाइरहँदा बालबच्चा भने त्यसको घानमा पिसिने गरेका छन् । वैदेशिक रोजगारीले थुप्रै दम्पतीको घरबार बिल्लीबाठ बनाइदिएको छ । यसको सोझो मार बालबच्चाले झेलिरहेका छन् ।