काठमाडौं - सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को दोस्रो पुस्ताका नेताहरु पार्टी भित्र देखिएको पछिल्लो संकट समाधानको गृहकार्यमा जुटेका छन् । दुबै खेमामा रहेका दोस्रो पुस्ताका नेताहरुको संयुक्त बैठकले पार्टीलाई फुटबाट जोगाउनुको विकल्प नरहेको निष्कर्ष निकालेको छ ।
बैठकमा जनार्दन शर्मा, सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, योगेश भट्टराई, प्रदीप ज्ञवाली, शंकर पोखरेल, वर्षमान पुन, शक्ति बस्नेत, विष्णु रिमाल र मणि थापा सहभागी थिए । बैठकले पार्टी एकतालाई हरहालतमा जोगाउन पर्ने निष्कर्ष निकालेको बैठकमा सहभागि एक नेताले जानकारी दिए ।
ती नेताका अनुसार संकट समाधानका लागि आरोप प्रत्यारोप रोक्न शिर्ष नेताहरुलाई आग्रह गरिनेछ । पार्टीलाई एकतावद्ध बनाउँदै महाधिवेशन गर्ने विषयमा पनि बैठकमा छलफल भएको थियो । अध्यक्षद्धय र अरु नेताहरुको बीचमा पनि सघन सम्वाद गर्नुपर्नेमा नेताहरुले जोड दिएका छन् ।
बिवाद उत्कर्षमा पुगेपछि शुक्रबार दुवैतिर रहेका दोस्रो पुस्ताका नेताहरुको संयुक्त बैठक बसेको हो । प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षबीचको बिवाद चुलिएपछि नेकपामा गम्भिर संकट देखापरेको छ । सहमतिको प्रयास भने जारी रहेको नेताहरुले बताएका छन् ।