Sajha Boli :: Nepal’s Reliable Digital Newspaper
गाउँपालिकामा सुशासन स्थापित गर्ने अभ्यास
सार्वजानिक सुनुवाईमा आफ्नो धारणा राख्दै शैलुङ गाउँपालिका अध्यक्ष भरत दुलाल

शैलुङ भैसे - आर्थिक वर्षको अन्त्य हुनै लाग्दा शैलुङ गाउँपालिकाका सर्बसाधरण नागरिक र जनप्रतिनिधिहरुबीच असार १६ गते मंगलवार खुल्ला अन्तरक्रिया भयो । गाउँपालिकाले आर्थिक वर्षभरी प्रवाह गरेका सेवा सुविधा र संचालन गरेका योजना कार्यक्रमबारे नागरिकले खुलेर गुनासो र प्रश्न गर्ने मौका पाए भने जनप्रतिनिधिले त्यसको जवाफ दिए ।

कार्यक्रममा गाउँपालिकाको तर्फबाट आर्थिक वर्षभरी गरेको योजना कार्यक्रमबारे जानकारी गराईएपछि सहभागिहरुले गुनासो, असन्तुष्टि, जिज्ञासा सहितको प्रश्न गरेका थिए ।

तीमध्येका वडा नम्बर ८ का भरत बुढाथोकीले पुर्ननिर्माण सम्बन्धि प्रश्न गरे । गाउँगाउँमा सिंहदरवार आयो भन्छन्, तर आफ्नै घर पुर्ननिर्माण गर्न पाईएन । जनप्रतिनिधिका आफन्तहरु सबैको नाम आउने हाम्रो किन नआउने, यस्तो किन हुन्छ ? प्रश्न गर्दै उनले भने ।’

जवाफमा गाउँपालिका अध्यक्ष भरत दुलालले सुरुमा प्राविधिकहरुले घर नापजाँच गर्ने क्रममा केही कमजोरी भएको स्वीकार गर्दै छुटपुट नागरिकको समस्या समाधान गर्न अधिकतम प्रयास भैरहेको बताए ।

अर्का सहभागि गोपी श्रेष्ठले योजनाहरुमा भैरहेको बेथिति र अनियमितता रोक्नेतर्फ गाउँपालिकाले गम्भिर ध्यान नदिएको भन्दै खबरदारी गरे । धेरै सडक योजनाहरुमा भनेजस्तो काम भएको छैन, उपभोक्ता समितिहरु पारदर्शी नभएको सुनिन्छ, श्रेष्ठले भने, यसतर्फ गाउँपालिकाको गम्भिर ध्यान जाओस् ।’

यसैगरी लोकेन्द्र खत्रीले सामुदायिक वन फडानी र अतिक्रमण रोक्नुपर्ने विषय उठाए । गाउँपालिकाको साझेदारीमा नेपाल पत्रकार महासंघ जिल्ला शाखाले संचालन गरेको सार्वजानिक सुनुवाई कार्यक्रम नागरिक र जनप्रतिनिधिबीच प्रत्यक्ष साक्षात्कार र अन्तरक्रिया गर्ने अबसर बनेको हो ।

गाउँपालिका अध्यक्ष दुलालले नागरिकले उठाएको हरेक प्रश्नको जवाफ दिनु आफ्नो दायित्व भएको भन्दै जनताको निगरानी र खवरदारी आफुहरुका लागि मार्गदर्शन हुने बताए । सुशासनसहितको समृद्ध गाउँपालिका बनाउन निरन्तर सकारात्मक ढंगले खबरदारी गर्न उनले जनतालाई आव्हान गरे ।

उक्त सार्वजानिक सुनुवाई कार्यक्रममा करिव डेढ सय सेवाग्राही नागरिकले उपस्थिति जनाएका थिए । कार्यक्रममा नेकपा दोलखा क्षेत्र नम्बर २ का अध्यक्ष कमल श्रेष्र्ठ ज्योती’ ले सार्बजानिक सुनुवाईले जनप्रतिनिधि र सेवा प्रदायक निकायलाई जिम्मेवार र जवाफदेही बनाउने भन्दै यस्ता कार्यक्रम प्रभाबकारी हुनुपर्ने धारणा राखे ।

यस्तै वडा नम्बर ८ का अध्यक्ष रामेश्वर उप्रेतीले जनताकै सुझाव र चाहना अनुसार कमीकमजोरी देखिए सुधार गर्दै अघि बढ्ने प्रतिवद्धता जनाए ।
सहभागिहरुले भ्रष्टाचार, अनियमितता, वन अतिक्रमण, कोरोना रोकथाम प्रतिको उदासिनता सहितको बेथिति र सडक, शिक्षा, स्वास्थ्य, खानेपानी विपद व्यवस्थापनमा देखिएको समस्याबारे जनप्रतिनिधिहरुको ध्यानाकर्षण गराएका छन् ।

गाउँपालिका उपाध्यक्ष लालमाया योञ्जन, नेकपा शैलुंङका अध्यक्ष मोहसिंह तामाङ लगायतले कार्यक्रममा आ आफ्नो धारणा राखेका थिए ।

प्रकाशित मिति: बिहीबार, असार १८, २०७७  १८:५२
प्रतिक्रिया दिनुहोस्
Weather Update