Sajha Boli :: Nepal’s Reliable Digital Newspaper
दोलखाका थप ३ जनामा कोरोना संक्रमण पुष्टि

चरिकोट – दोलखाका थप ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सदरमुकाम चरिकोट स्थित भिमेश्वर नगरपालिकाको क्वारेन्टाईनमा रहेका एक र दोलखा घर भई काठमाण्डौंमा परीक्षण गरिएका दुई जनामा कोरोना संक्रमण देखिएको हो ।

जिल्ला स्वास्थ्य कार्यालय दोलखाका प्रमुख विभु कुमार झाले जिल्लाबाट पठाईएको एक र दोलखा घर भई काठमाण्डौं स्थित शिक्षण अस्पतालमा परीक्षण गरिएका एक महिला र एक पुरुष गरी ३ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिए । जिल्लाबाट स्वावको नमुना संकलन गरी पठाईएका पुरुष भिमेश्वर नगरपालिकाका हुन् ।

संक्रमित व्यक्ति तेस्रो मुलुकबाट आएर भिमेश्वर नगरपालिकाको क्वारेन्टाईनमा बसेका थिए । जिल्ला स्वास्थ्य प्रमुख झाले जिल्लाका संक्रमित व्यक्तिको आईसोलेसनमा राखेर उपचार सुरु भएको र उनको कन्ट्याक्ट ट्रेसिङको काम भैरहेको बताए । 

काठमाण्डौंमा संक्रमण पुष्टि भएका दुई जना दोलखाली भएपनि उनीहरुको बिस्तृत ठेगाना खुलाईएको छैन । तीमध्ये पुरुषको नमुना गंगालाल अस्पताल र महिलाको नमुनाा काठमाण्डौं क्वारेन्टार्ईनबाट संकलन गरिएको जनाईएको छ । 

जिल्लामै स्वाबको नमुना संकलन गरी पठाईएका मध्ये दोस्रो पटक संक्रमण पुष्टि भएको हो । सदरमुकाम चरिकोट स्थित क्वारेन्टाईनमा रहेका पुरुषको आरडीटी परीक्षण पछि स्वाब थप परीक्षणका लागि काठमाण्डौं पठाईएको थियो ।

उनको आरडीटी रिपोर्ट पनि पोजेटिभ आएको थियो । यसअघि दोलखा जिल्ला घर भएका ४ जनामा कोरोना संक्रमण देखिईसकेको छ । ती मध्ये एक जना बृद्धको मृत्यु भैसकेको छ । संक्रमित सुत्केरी उपचारपछि घर फर्किसकेकी छिन् भने गौरीशंकर गाउँपालिकाका दुई जनाको काठमाण्डौंमा उपचार भैरहेको छ । 

प्रकाशित मिति: बिहीबार, असार १८, २०७७  १५:०१
प्रतिक्रिया दिनुहोस्
Weather Update