काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीले पछिल्लो विकसित राजनीतिक घट्नाक्रमबारे राजनीतिक परामर्श थालेका छन् । पार्टीभित्र राजीनामा मागिएको र सरकारका कामकारबाहीको आलोचना भैरहेका बेला ओलीले परामर्शका लागि मन्त्रीहरुलाई बालुवाटार बोलाएका छन् ।
पार्टीको स्थायी समिति बैठकमा शीर्ष नेतासहित १७ जनाले अध्यक्ष र प्रधानमन्त्री दुवै पदबाट राजीनामा दिन माग गरेका थिए । प्रधानमन्त्री ओलीले बुधवार (आज) विहान छलफलका लागि आफूहरुलाई ८ बजे बालुवाटार बोलाएको एक मन्त्रीले जानकारी दिए ।
साढे दुई वर्षदेखि सरकारको नेतृत्व गरिरहेका प्रधानमन्त्री केपी शर्मा ओली राजीनामा दिनुपर्ने दबावमा छन् । स्वेच्छाचारी ढंगले अघि बढ्न खोजेको भन्दै पार्टी भित्र र बाहिर असन्तोष बढ्दो छ । नौ सदस्यीय पार्टी सचिवालयमा रहेका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ नेताहरू झलनाथ खनाल र माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम, प्रवक्ता नारायणकाजी श्रेष्ठसहित मंगलबार बोल्ने अन्य १२ स्थायी कमिटी सदस्यले पार्टी र सरकार दुवैबाट ओलीको राजीनामा मागिसकेका छन् ।