चरिकोट - दोलखाको गौरीशंकर गाउँपालिकामा दुई जनामा कोरोना संक्रमण पुष्टि भएको छ । गौरीशंकर गाउँपालिकाको क्वारेन्टाईनमा बसेका एक महिला र एक पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।
जिल्ला स्वास्थ्य कार्यालय दोलखाका अनुसार भारतबाट आएका पुरुष र कतारबाट आएकी महिलाको पीसीआर परीक्षण रिपोर्ट पोजेटिभ आएको हो । उनीहरुलाई हलेश्वर माविको क्वारेन्टाईनमा राखिएको थियो ।
जिल्ला स्वास्थ्य कार्यालय दोलखाका प्रमुख विभु कुमार झाले गौरीशंकर गाउँपालिका स्थित हलेश्वर क्वारेन्टाईनमा रहेका ७ जनाको स्वाब पीसीआर परीक्षणका लागि पठाईएकोमा दुई जनाको रिपोर्ट पोजेटिभ आएको जानकारी दिए । उक्त क्वारेन्टाईनमा २५ जना रहेकोमा संक्रण पुष्टि भएसँगै सबैको स्वाब संकलन गरिँदैछ ।
यसअघि दोलखा जिल्ला घर भएका ४ जनामा जिल्ला बाहिर संक्रमण देखिएको थियो । जिल्लामै संक्रमण पुष्टि भएको यो पहिलो पटक हो । कोरोना संक्रमित दोलखा तिखातलका एक वृद्धको मृत्यु भैसकेको छ ।