Sajha Boli :: Nepal’s Reliable Digital Newspaper
लकडाउन खुकुलिएसँगै भारतमा कोरोना संक्रमण दर उच्च, ५ लाख नाघ्यो

काठमाडौँ — भारतमा ५ लाख भन्दा बढि मानिसमा कोरोना भाइरसको संक्रमण भएको छ । शनिबारसम्म कोरोना संक्रमितको संख्या ५ लाख ८ हजार ९ सय ५३ पुगेको भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका जनाएको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा मात्रै भारतमा १८ हजार ५ सय ५२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा मात्रै ३ सय ८४ जनाको मृत्यु भएको छ । योसँगै भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या १५ हजार ६ सय ८५ पुगेको छ ।

भारतमा लकडाउन खुकुलो भएपछि संक्रमणदर उच्च देखिएको छ । जुलाई अन्तिमसम्ममा भारतमा संक्रमितको संख्या १० लाख पुग्ने जनस्वास्थ्यविदहरुले अनुमान गरेका छन् ।

कोरोना भाइरसको संक्रमणको हिसाबले भारत विश्वको चौथो स्थानमा छ । भारतभन्दा बढि अमेरिका, ब्राजिल र रुसमा संक्रमण दर बढि छ । सबैभन्दा बढी प्रभावित अमेरिकामा शनिबार बिहानसम्म २४ लाख ६७ हजारभन्दा बढी संक्रमित भएका छन् भने एक लाख २५ हजार ३९ जनाको मृत्यु भएको छ ।

ब्राजिलमा संक्रमित संख्या करिब १२ लाख ७५ हजार, मृत्यु करिब ५६ हजार, रुसमा संक्रमितको संख्या करिब ६ लाख २० हजार, ८ हजार ७ सय ७० जनाको मृत्यु भैसकेको छ । विश्वभर कोरोना संक्रमितको संख्या ९८ लाख नाघेको छ भने मृत्यु हुनेको संख्या ४ लाख ९४ हजार नाघेको छ ।

प्रकाशित मिति: शनिबार, असार १३, २०७७  १३:४७
प्रतिक्रिया दिनुहोस्
Weather Update