एजेन्सी - अमेरिकी विदेश मन्त्रालयले चिनियाँ नेताहरुलाई अमेरिका प्रवेशमा प्रतिबन्धको घोषणा गरेको छ । विदेशमन्त्री माइक पोम्पेओले चिनियाँ कम्युनिस्ट पार्टीका केही पदाधिकारीहरूलाई अमेरिका प्रवेशमा प्रतिबन्ध लगाईएको बताएका हुन् ।
हङ्कङको स्वतन्त्रतालाई सङ्कुचित पार्ने योजनामा सहभागी भएका चिनियाँ अधिकारीहरुको हकमा यस्तो निर्णय गरिएको उनले बताए । पोम्पेओका अनुसार अमेरिकी प्रतिबन्ध सीपीसीका पदासीन र भूतपूर्व अधिकारीहरूप्रति लक्षित छ ।
अमेरिकाले प्रवेशाज्ञामा लगाएको प्रतिबन्धबाट प्रभावित हुने चिनियाँ अधिकारीहरूको नाम पोम्पेओले उल्लेख गरेका छैनन्। यसअघि राष्ट्रपति डोनल्ड ट्रम्पले हङ्कङको स्वायत्तताविरुद्ध ल्याउन लागिएको सुरक्षा कानुनका लागि चीनलाई दण्डित गर्ने बताएका थिए । सोही अनुसार यो कदम चालिएको बताईएको छ ।
चीनको प्रतिक्रिया
चीनले भने अमेरिकी निर्णय त्रुटिपूर्ण रहेको प्रतिक्रिया जनाएको छ । वाशिङ्टनस्थित चिनियाँ राजदूतावासले ूअमेरिकी पक्षको अन्यायपूर्ण निर्णयहरूको कडा विरोध गर्ने जनाएको छ ।
ट्विटरमा एउटा विज्ञप्ति प्रेषित गर्दै राजदूतावासले अमेरिकालाई तत्काल आफ्ना गल्तीहरू सच्याउन, उक्त निर्णय फिर्ता लिन र चीनको आन्तरिक विषयमा हस्तक्षेत नगर्न आग्रह गरेको छ। चिनियाँ संसद्को बैठकको पूर्वसन्ध्यामा अमेरिकाले चिनियाँ नेताहरूलाई अमेरिका प्रवेश गर्न नदिने घोषणा गरेको हो ।
आइतवारदेखि आरम्भ हुने चीनको न्याश्नल पीपल्स कङ्ग्रेसको स्थायी समितिमा हङ्कङका लागि बनाइएको कानुनबारे छलफल हुँदैछ ।
चीनले प्रस्तावित गरेको कानुनमा हङ्कङमा चीनको अधिकारविरुद्ध हुने गतिविधिहरू अपराध ठहरिने तथा बेइजिङले त्यहाँ आफ्ना सुरक्षा निकायहरू स्थापित गर्न सक्ने प्रावधानहरू राखिएका छन् ।