Sajha Boli :: Nepal’s Reliable Digital Newspaper
८ महिनाको सेवासुविधा नलिने शैलुङ गाउँपालिकाका जनप्रतिनिधिहरुको निर्णय

चरिकोट — शैलुङ गाउँपालिकाका जनप्रतिनिधिहरुले ८ महिनाको सम्पूर्ण सेवा सुविधाको रकम नलिने निर्णय गरेका छन् । उनीहरुले ८ महिनाको सेवा सुविधा वापत हुन आउने ४० लाख रुपैयाँ बरावर रकम नलिने निर्णय गरेका हुन् । आगामी आर्थिक वर्ष २०७७÷७८ को नीति, कार्यक्रम र बजेटमा उक्त रकम स्थानीय कोरोना कोषमा जम्मा गर्ने प्रस्ताव गरिएकोमा सातौं गाउँसभाले सर्बसम्मतिले अनुमोदन गरेको छ ।

गाउँपालिकाका अध्यक्ष भरत दुलालले घाटा बजेटलाई समायोजन गर्दैे जनप्रतिनिधिहरुको ८ महिनाको सेवा सुविधाकोे रकम कोरोना कोषमा जम्मा गर्ने ऐतिहाँसिक निर्णय गाउँसभाले पारित गरेको जानकारी दिए । गाउँसभामा पेश गरिएको नीति तथा कार्यक्रम र बजेटमा कारोना रोकथाम, नियन्त्रण तथा उपार कोषमा ६० लाख रुपैयाँ थप गरी व्यवस्थापनलाई थप प्रभावकारी बनाउने उल्लेख छ ।

कोरोना प्रभावित असंगठित क्षेत्रमा कार्यरत श्रमिकको लागि न्यूनतम ज्यालाको एक चौथाई बरावरको खाद्यन्न राहत स्वरुप प्रदान गर्न कामका लागि खाद्यन्न कार्यक्रम संचालन गर्ने प्रस्ताव गरिएको छ ।

गाउँपालिकाका कोरोना संक्रमित व्यक्तिलाई जनही १० हजार र एम्बुलेन्स भाडा खर्च उपलब्ध गराईने भएको छ । यस्तै कोरोना रोकथाम तथा नियन्त्रण कार्यमा संलग्न पदाधिकारी, कर्मचारी, प्रहरी र विरामी ओसार्ने कार्यमा प्रयोग हुने सवारी साधन वा एम्बुलेन्सको चालकलाई कोरोना संक्रमण भएमा उपचार खर्चबापत १ लाख र मृत्यु भएमा निजको परिवारलार्य पाँच लाखका दरले राहत उपलव्ध गराईनेछ ।

प्रकाशित मिति: बिहीबार, असार ११, २०७७  १२:४०
प्रतिक्रिया दिनुहोस्
Weather Update