-नवीन कुमार खतिवडा
बैतेश्वर - वैतेश्वर गाउँपालिकाले सातौं गाउँसभामा आगामी आर्थिक वर्षको नीति, कार्यक्रम तथा बजेट सार्वजनिक गरेको छ। गाउँसभाले गाउँपालिकाको ३२ बुँदे नीति तथा कार्यक्रम आज नै पारित गरेको छ भने आगामी बर्षको लागि बजेट सभामा पेश गरेको हो।
गाउँपालिकाका अध्यक्ष छवि लामाको अध्यक्षतामा भएको गाउँसभामा उपाध्यक्ष रविचन्द्र आचार्यले कुल ४९ करोड ३२ लाख ९४ हजार बराबरको बजेट गाउँसभामा प्रस्तुत गरेका छन् । जस अनुसार चालुतर्फ २० करोड ९३ लाख ८८ हजार, पूजीगततर्फ ७ करोड ६७ लाख ९४ हजार र सशर्ततर्फ २० करोड ६३ लाख बजेट रहेको छ । गाउँपालिकाले कृषि र पूर्वाधार विकासलाई प्रमुख प्राथमिकतामा राख्दै आगामी आर्थिक वर्षको नीति, कार्यक्रम तथा बजेट सार्वजनिक गरेको हो।
चालु वर्ष प्रदेश संगको सहकार्यमा समपुरक कोष मार्फत तीन किलोमिटर सडक कालोपत्रे गरेको छ भने आगामी आर्थिक वर्ष सडक कालोपत्रेको कामलाई निरन्तरता दिँदै ४ किलोमिटर सडक कालोपत्रे गर्ने लक्ष्य राखी बजेट विनियोजन गरेको छ।
हेर्नुस् नीति तथा कार्यक्रम र बजेटको पुर्णपाठ
आर्थिक वर्ष २०७७/७८ को लागि गाउँसभामा बजेट तथा कार्यक्रम तर्जुमा समितिका संयोजक रविचन्द्र आचार्यद्धारा प्रस्तुत वार्षिक नीति तथा कार्यक्रम
१. आदरणीय गाउँसभाका अध्यक्षज्यू, सभाका सम्पूर्ण सदस्यज्यूहरु, कर्मचारी मित्रहरु लगायत उपस्थित महानुभावहरु, नेपालको संविधान २०७२ वमोजिम निर्वाचित वैतेश्वर गाउँपालिकाको स्थानीय सरकारको चौथोपटक वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्न पाउदा अत्यन्त खुशी लागेको छ ।
आगामी वर्ष २०७७÷७८ मा प्रस्तुत हुने नीति तथा कार्यक्रम निर्माण गर्न ६ वटै विषयगत विकास समिति, राजश्व परामर्श समिति, स्रोत अनुमान तथा सीमा निर्धारण समिति, बजेट तथा कार्यक्रम तर्जुमा समिति, पालिका अध्यक्ष एवं जनप्रतिनिधि साथीहरु , कर्मचारी मित्रहरु, विभिन्न विज्ञहरुको सुझावलाई आधार बनाई समग्र वर्तमान समुदायको आवश्यकताको आकलन गरि नीति तथा कार्यक्रमहरु तयार पारिएको छ ।
यो नीति तथा कार्यक्रम सम्पादन गर्दा नेपाल सरकारको आ।व। २०७७/७८ को नीति तथा कार्यक्रम, वागमती प्रदेश सरकारको नीति तथा कार्यक्रम र बजेटका प्राथमिकताहरुलाई समेत अध्ययन र मनन गरिएको छ ।
२।कृषि क्षेत्रको आधुनिकीकरण र व्यवसायिकरणमा जोड दिइनेछ — जसको लागि माटो परीक्षण, उर्वर भूमि सिंचाइ, वालीनालीमा लाग्ने रोगको पहिचान, वडा वडामा कृषि प्राविधिक खटाइ उत्पादनमा वृद्धि गराउने र किसानको लागत सहभागितामा कृषकहरुलाई खाद्य सुरक्षा र सेवा प्रदान गर्ने , विउ विजन, विषादी आदि अनुदानमा उपलब्ध गराइने छ । साथै कफिको पकेट क्षेत्रलाई ब्लकको रुपमा विकास गर्न र कृषि विज्ञको व्यवस्था गर्न पहल गरिने छ
३। सबैको साथ,बैतेश्वरको विकासको नारालाई सार्थक बनाउदै सुखी नागरिक, समृद्ध वैतेश्वर बनाउन कृषक मुखी आयोजनाहरु अघि बढाउने छ ।
४। सबै वडाभित्र रहका बाँझो जग्गाहरुको एकीकृत तथ्यांक संकलन गरिे भूमि बैंकको अवधारणालाई कार्यान्वयन गर्न सहजीकरण गरिने छ जसकोलागि बाँझो जमिन राख्न निरुत्साहित गराइनेछ साथै व्यावसायिक रुपमा तरकारी र मसलाजन्य जडिबुटी उत्पादनको पकेट क्षेत्र निर्माण गर्ने र तरकारी र मसलाजन्य जडिबुटी खेती गर्ने कृषकहरुलाई आर्थिक तथा प्राविधिक क्षेत्रमा सहयोग पुर्याउन विभिन्न सहकारी संस्था लगायत अन्य संघ—संस्थालाई आव्हान गरिनेछ ।
५।बैदेशिक रोजगारीवाट फर्किएका तथा गाउँपालिकामा रहि रोजागारीको खोजीमा रहेका व्यक्तिहरुको विवरण संकलन गरि स्थानीय तह भित्र उपलव्ध हुने निर्माण, उद्योग, कृषि आदि कार्यक्षेत्रमा रोजगारदाताहरु संग समन्वय गरि रोजगार प्रदानगर्न सहजीकरण गरिनेछ ।
६। पशुपालनका लागि कृषकहरुलाई प्रोत्साहन गरिनेछ यस्को लागि पशुको जोखिम न्यूनीकरण गर्न पशु वीमालाई निरन्तरता दिइने छ ।
७। नागरिकलाई जीवन रक्षाका लागि रोग र भोकबाट जोगाउन तथा गरीबि न्यूनीकरण गर्ने उपाय खोजी रोजगारीका अवसरहरु पहिल्याइने छ । उपयुक्त भौगोलिक वातावरण मिल्ने ठाउँहरुमा कफि, अलैची, आलु, किवि, ओखर,फलफुल तथा तरकारी खेती बिस्तार गर्न कृषकहरुलाई प्रोत्साहन गरिनेछ ।
८। वैतेश्वर अस्पताललाइ भौतिक स्रोत साधनले सम्पन्न गराइ गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न आवश्यक ब्यबस्थापन गरिनेछ ।
९। पालिका भित्र रहेका ५ वटै स्वास्थ्य केन्द्र, ३ वटा सामुदायिक स्वास्थ्य इकाइको व्यवस्थापनमा थप सुधार गर्दै लगिने छ ।
१०।कोरोना भाइरस कोभिड—१९ को संवेदनशीलतालाई आधारमानी योजना निर्माण गरिने साथै विभिन्न रोगका संक्रमणहरु बढ्न नदिन सचेतनामूलक कार्यक्रमहरु गरिने छ ।
११।वैतेश्वर गाँउपालिकालाई पूर्ण खोप युक्त पालिका सुनिश्चितता गरिनेछ ।
१२। वन तथा वन संरक्षणको लागि आवश्यक व्यवस्था गरिनेछ । वातावरण प्रदुषित हुन नदिन वस्तीहरुमा फोहोर मैलाको उचित व्यवस्था गरिने छ साथै सार्वजनिक स्थल वरिपरि र नदीनालामा फोहोर जन्य सामग्री विसर्जन गर्न बन्देज लगाइने छ र पालिका भित्रका सबै घरमा शौचालय निर्माण गर्न प्रोत्साहान गरि क्रमश खुल्ला दिशामुक्त पालिका घोषणा गरिनेछ ।
साथै वैतेश्वर गाउँपालिका भित्रका नदी, खोलानामा रहेको जलचर प्राणीहरुको संरक्षण गरी उनिहरुको चोरी सिकारीलाई नियन्त्रण गरीनेछ ।
१३। राजश्वका स्रोत, दायरा र दर सहितको विश्लेषण गरि थप आन्तरिक स्रोत वृद्धि गर्ने उपायहरुको पहिचान गरिनेछ ।
१४। गाउँपालिकाको प्रशासनिक केन्द्र रहेको पाडुडाँडामा कार्यालय संचालन गर्न कोठा अभावको कारण कठिनाई भएकाले कार्यालयको कोठाहरु निर्माण गर्ने र ८ वटै वडा कार्यालयको सुरक्षाका लागि घेरावार लगाउने व्यवस्था गरिनेछ ।
१५। पाडुडाँडा कार्यपालिकाको कार्यालय र ८ वटै वडा केन्द्रमा सूचना र संचारको प्रभावकारी व्यवस्थापन गरि थप सेवा प्रदान गरिनेछ ।
१६।पानीका स्रोतहरुलाई संरक्षण गरि गाउँपालिकाका सवै घरमा स्वच्छ पिउनेपानी उपलब्ध गराउने र ुएक घर एक धाराु अभियानलाई निरन्तरता दिइनेछ ।
१७। महिला, अपांगता भएका,दलित वालवालिका र आर्थिक,सामाजिक र सांस्कृतिक रुपमा पछाडी परेको वर्ग र समुदायको शसक्तिकरणमा जोड दिइने छ ।
१८। पर्यटन र संस्कृतिको विकास गरि आन्तरिक पर्यटक भित्र्याउनका लागि विभिन्न स्थानमा पार्क, पिकनिक स्पट पुरातात्विक ठाँउहरुको संरक्षणमा जोड दिइने छ ।
१९।स्थानीय न्यायिक समितिको भूमिकालाई थप प्रभावकारी बनाउने साथै सबै वडामा रहेका सामुदायिक मेल मिलाप केन्द्रलाई व्यवस्थित बनाइने छ ।
२०। वैतेश्वर गाउँपलिका भित्रका सार्वजनिक पद धारण गर्ने व्यक्तिहरुका छोराछोरीलाई सामुदायिक विद्यालयमा पठन पाठन गराउनु पर्ने नीति अवलम्बन गरिनेछ त्यस्तै बिद्यार्थी उत्तीर्ण दरका आधारमा बिद्यालयलाई पुरस्कृत गरिनेछ । साथै आधारभुत तहको तोकीएसम्मका कक्षाहरुमा स्थानीय पाठ्यक्रम निमार्णगरी पठनपाठनमा एकरुपता ल्याइनेछ ।
पालिका भित्र स्नातक तह सन्चालन भएका क्याम्पसहरुलाई पूर्वाधार विकासको लागि सहयोग गरिदै लगिनेछ ।
२१। कोभिड—१९ तथा अन्य मानसिक रोगका कारण डिप्रेशनमा परेका व्यक्तिहरुलाई मनोसामाजिक परामर्श सेवा उपलब्ध गराउन सुरुवात गरिनेछ ।
२२। हाल भइरहेका विकासका पूर्वाधारहरुको वातावरण मैत्री, दिगो विकासमा आधारित रही स्तरोन्नती गरिदै लगिनेछ ।
२३।चालु आर्थिक वर्षमा पालिका भित्रका केहि सडक स्तरोन्नती भएर करिव ३ कि।मी सडकमा कालोपत्रे समेत भएको र अन्य सडकहरुमा पनि आगामी वर्ष कालोपत्रे गर्ने कार्यलाई निरन्तरता दिइने छ ।
२४।पूर्वाधार विकासका काममा कार्यक्रम संचालन गर्दा विपद जोखिम संवेदनशीलतालाई सघाउ पुर्याउन प्राविधिक इस्टिमेट गर्ने र विकास निर्माण कार्य गर्दा प्राकृतिक सौन्दर्यलाई ध्वस्त नगर्ने गरि काम गर्ने निति अवलम्बन गरिनेछ ।
२५।कार्यपालिकाको कार्यालय, वडा कार्यालय तथा विषयगत शाखाको सेवा प्रवाहलाई सूचना प्रविधि मैत्री वनाइने छ ।
२६। खेलकुदको माध्यमबाट व्यक्तिको शारीरिक, मानसिक विकास हुने हुँदा युवा खेलाडीहरुलाई खेलकुद प्रति आकर्षित वनाइने छ साथै विद्यालयस्तरीय राष्ट्रपति रनिङ शील्ड प्रतियोगिता र अन्य खेलकुद प्रतियोगितामा खेलाडीहरुलाई सहभागी हुन उत्प्रेरीत पारिनेछ ।
२७। पालिका भित्र रहेका समान प्रकृतिका सहकारीहरुलाई संघ र प्रदेशको नीतिसंग नबाझिने गरि एक आपसमा एकीकरण गर्न उत्प्िरेरत पारिनेछ । कृषि वस्तु तथा सेवामा कृषकहरुलाई सुलभ ऋण लगानी गरी उनिहरुको आय–आर्जन बृद्घि गराई गरीबि न्यूनीकरण गर्न सहयोग पु¥याउने सहकारीहरुलाई पुरस्कृत गरीनेछ ।
२८। पालिका भित्र रहेका आन्तरिक सडकहरुको पालिकाले तोकेको मापदण्ड अनुशार नापी कार्यालयबाट लगत कट्टा गरी नापी नक्सामा समावेश गराउन सुरु गरीनेछ । साथै परम्परा देखिका पैदल मार्गहरुको पनि अभिलेखीकरण गर्न पहल गरीनेछ ।
२९. पालिका भित्र विद्यमान रहेका गुठी जग्गाको विवरण संकलन गरी अभिलेख राखिनेछ । सबैखाले खेतियोग्य जग्गा जमिन बाझो राख्न नपाइने नीति लिइनेछ ।
३०.नदी,खोला खहरे आदिबाट आवतजावत गर्न कठिनाई भएको ठाउँको समुदायको माग र आवश्यकताको आधारमा झोलुङ्गे पुलको विस्तार गर्न पहल गरीनेछ ।
३१.बदलिदो परिवेश अनुसार विकासका सूचकहरुलाई परिस्कृत गर्दै पाँच वर्षे आबधिक विकास योजना निर्माण गरि कार्यान्वयन गर्दै लगिनेछ ।
३२। मानविय जनस्वास्थ्यलाई सुधार ल्याउन वैतेश्वर गाउँपालिका भित्र रहेका सार्वजनिक स्थलहरुमा धुमपान र मध्यपान सेवन गर्न निरुत्साहित गरिनेछ ।