चरिकोट - दोलखा भिमेश्वर नगरपालिकाले आगामी आर्थिक वर्षको बजेट ८६ करोड ७३ लाख भन्दा बढि हुने प्रक्षेपण गरेको छ । नगरपालिकाको सोमवार भएको नगरसभामा पेश गरिएको नीति तथा कार्यक्रममा आगामी आर्थिक वर्ष २०७७÷७८ का लागि ८६ करोड ७३ लाख ४८ हजार रुपैयाँको अनुमानित बजेट प्रस्तुत गरिएको हो ।
जसमा ८ करोड ५० लाख चालु तर्फ, ७८ करोड ८ लाख ४८ हजार पुँजीगत तर्फ र बित्त व्यवस्थापन शिर्षकमा १५ लाख बजेट विनियोजन गरिएको छ । प्रस्तुत नीति तथा कार्यक्रम र बजेट अनुसार भिमेश्वर नगरपालिकाले नयाँ आर्थिक वर्षमा सामाजिक विकासतर्फ ३३ करोड ६१ लाख ३३ हजार खर्च गर्नेछ । जुन सबैभन्दा बढि अर्थात बजेटको ३८ दशमलव ७५ प्रतिशत हो ।
यसैगरी पूर्वाधार विकासमा ३२ करोड १७ लाख ५ हजार, आर्थिक विकासमा १० करोड ४५ लाख ५ हजार, सुशासन तथा संस्थागत विकास कार्यसंचालन तथा प्रशासनिक खर्च ९ करोड ४७ लाख ५५ हजार खर्च हुने अनुमान छ । वन वातावरण तथा विपद व्यवस्थापनमा १ करोड २ लाख ५० हजार बजेट विनियोजन गरिएको छ ।
नगरपालिकाका मेयर भरत केसिको अध्यक्षतामा भएको नगरसभामा उपमेयर कमला बस्नेतले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गरेकी थिईन् ।