२९ माघ, दोलखा । दोलखाको शैलुङ गाउँपालिका बाग्मती प्रदेशकै उत्कृष्ट गाउँपालिकाको रुपमा पुरस्कृत भएको छ । बाग्मती प्रदेश सरकारले कार्यसम्पादन, महालेखा परीक्षकको कार्यालयको वित्तिय प्रतिवेदन लगाएत सुचकलाई आधार मानि शैलुङ गाउँपालिकालाई उत्कृष्ट स्थानीय तह घोषणा गरेको हो ।
प्रदेश स्थापनाको दोस्रो बार्षिक उत्सवको अवसरमा राजधानी हेटौँडामा बुधवार आयोजित समारोहकाबीच शैलुङ गाउँपालिकालाई उत्कृष्ट गाउँपालिका घोषणा गर्दै सम्मान र कदरपत्र प्रदान गरियो । कार्यक्रममा प्रमुख अतिथि प्रदेश प्रमुख विष्णु प्रसाईले गाउँपालिका अध्यक्ष भरत दुलाललाई सम्मान र कदरपत्र प्रदान गरे । बाग्मती प्रदेशका १३ जिल्लाका १ सय १९ स्थानीय तह मध्ये शैलुङ गाउँपालिका सहित ३ गाउँपालिका र दुई नगरपालिका उत्कृष्ट घोषित भएका हुन् ।
उत्कृष्ट गाउँपालिकाको रुपमा पुरस्कृत भएपछि गाउँपालिका अध्यक्ष दुलालले गाउँपालिकाबासि र जिल्लाका सबै सरोकारवालाहरुको सामुहिक प्रयासका कारण यो सम्भव भएको प्रतिक्रिया दिए । आगामी दिनमा गाउँपालिकाको समग्र क्षेत्रमा थप व्यवस्थित र प्रभावकारी ढंगले विकास र समृद्धिको योजना अघि बढाउन लागिपर्ने उनले बताए ।