चरिकोट — दोलखा कालिञ्चोक गाउँपालिका वडा नम्बर-८, सुनखानी स्थित कालिनाथान मन्दिरको पुर्ननिर्माण कार्य अन्तिम चरणमा पुगेको छ ।
ऐतिहाँसिक धार्मिक तथा सांस्कृतिक महत्व बोकेको कालिनाथान मन्दिरमा २०७२ सालको बिनासकारी भूकम्पले क्षति पुर्याएको थियो । स्थानीयको चन्दा संकलन अभियान र प्रदेश सरकारको सहयोगमा भूकम्प गएको ४ बर्षपछि पुर्ननिर्माण कार्यले गति लिएको हो । उक्त मन्दिरको हाल पुरातात्विक डिजाईनमा धमाधम निर्माण कार्य भैरहेको छ ।
मन्दिर पुर्ननिर्माण अभियान्ता मध्येका एक मोहन पाठकका अनुसार मन्दिर पुर्ननिर्माणको लगभग ७० प्रतिशत काम सम्पन्न भैसकेको छ । मन्दिरको पुरानो कलासंस्कृतिक, ऐतिहाँसिक र मौलिक स्वरुपलाई ध्यान दिँदै पुर्ननिर्माणमा ईट्टा र सालको काठ बढि मात्रामा प्रयोग भएका छन् । मन्दिरको अघिल्लो प्राङ्गण सम्याएर ८ कोठे पक्की भवनका साथै आकर्षक प्रवेशद्धार र मन्दिर प्राङ्गणसम्म पुग्ने पैदलमार्ग बनाउने निर्माण समितिको लक्ष्य छ ।
महाशिवपुराणको बचत रकम, चन्दा संकलन र प्रदेशको आर्थिक सहयोगमा मन्दिर पुर्ननिर्माण कार्य अघि बढेको हो । मन्दिर पुर्ननिर्माणका लागि स्थानीयवासि समेत रहेका समाजसेवी तथा उद्यमी वालकृष्ण शिवाकोटीको नेतृत्वमा समिति गठन गरिएको थियो । सोही समितिको अगुवाईमा ३ सय वर्ष पुरानो मन्दिरले नयाँ स्वरुप पाउने भएको हो ।
पुर्ननिर्माण कार्य सम्पन्न हुँदासम्म करिब १ करोड ७० लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ । चन्दा संकलनबाट मात्रै मन्दिर परिसरको सबै संरचना निर्माण कार्य सम्पन्न गर्न कठिन भएकाले सरकारी निकायबाट सहयोग प्राप्त हुने स्थानीयको अपेक्षा छ ।
भारद्धाज गोत्रीय शिवाकोटीहरुको पुर्खा श्री गणेश पाध्यायका सन्ततिहरुले झण्ड ३ सय वर्ष पहिलो मन्दिर निर्माण गरेको किंवदन्तीमा पाईन्छ । त्यसपछि २०४८ सालमा पहिलो पटक मन्दिरको जिर्णोद्धार गरिएको थियो । भूकम्पले क्षति पुर्याएपछि करिव २८ वर्षपछि दोस्रो पटक मन्दिरको जिर्णोद्धारमा स्थानीय जुटेका हुन् ।
रालोबिनाको घण्ट र घण्टभित्र बास बस्ने कालिनागको विशेष पूजाअर्चना गरिने कालिनाथान मन्दिरमा मंसिरको धान्य पूर्णिमामा भव्य मेला लाग्ने गर्दछ । यस्तै वडादशै, चैतेदशै लगायतका पुर्वहरुमा पनि यहाँ मेला लाग्ने गर्दछ ।