Sajha Boli :: Nepal’s Reliable Digital Newspaper
४५ वर्षपछि चीन र भारत आमनेसामने, २० भारतीय सैनिकको मृत्यु

नयाँदिल्ली — भारत र चीनबीच सिमा क्षेत्रको जमिनको विषयलाई लिएर सुरु भएको तनाव भिडन्तमा परिणत भएको छ । दुई देशबीच एक महिनादेखि तनाव कायम छ । भारतीय र चिनियाँ सेनाबीच पूर्वी लद्दाखको गलवान उपत्यकामा हिंसात्मक झडप भएको छ । झडपमा परी भारतीय सेनाका एक जना अधिकृत (कर्णेल) सहित २० जनाको मृत्यु भएको छ ।

भारतीय सेनाले एक वक्तव्यमार्फत झडपमा २० सैनिकको मृत्यु भएको पुष्टि गरेको छ । चिनियाँ सैनिकतर्फ भएको क्षतिबारे भने एकिन हुन सकेको छैन । भारतीय सञ्चारमाध्यमले चिनियाँतर्फपनि ठूलो संख्यामा हताहत भएको दावी गरेका छन् । घटनालाई लिएर दुईदेशबीच आरोप प्रत्यारोप चलिरहेको छ ।
चीन र भारत एसियाका दुई ठूला आणविक मुलुक हुन् । यो स्तरको हिंसात्मक झडप विगत ४५ वर्षकै पहिलो हो । पछिल्लो घटनाले दुई देशबीच युद्ध हुन सक्ने सम्भावनालाई बढाएको छ । करिब १४ सय फिटको उचाइमा रहेको लेह–लद्दाख क्षेत्रमा सीमा विवादका कारण दुई छिमेकी आमनेसामने भएका हुन् ।

झडपमा कर्णेलसहित तीन जनाको तत्कालै र गम्भीर घाइते १७ सैनिकको पछि मृत्यु भएको भारतीय सेनाले विज्ञप्तिमार्फत जानकारी दिएको छ ।
चीनले भारतीय पक्षले अनधिकृत रूपमा निषेधित क्षेत्रमा प्रवेश गरेर सहमति उल्लंघन गरेकाले झडप भएको जनाएको छ । कालापानी क्षेत्रको सीमा विवादलाई लिएर नेपालसँगको सम्बन्धमा तनाव खेपिरहेको भारतको सीमाकै विषयलाई लिएर अर्को छिमेकी चीनसँगको सम्बन्ध पनि तनावपूर्ण बनेको छ ।

भारत र चीनबीच चार हजार किलोमिटरभन्दा लामो सीमा छ । सीमाकै विषयलार्य लिएर सन् १९६२ मा दुई देशबीच युद्धसमेत भएको थियो । करिब आधा दर्जन क्षेत्रमा दुई देशबीच सीमालाई लिएर चर्को विवाद छ । कतिपय भूभाग दुवै देशले आफ्नो दाबी गर्दै आएका छन् । भारतका तर्फबाट संवेदनशील क्षेत्रमा भारतीय सेनाले निगरानी गर्छ भने अन्य ठाउँमा इन्डो तिब्बत बोर्डर पोलिस (आईटीबीपी) ले नै सीमा सुरक्षा हेर्दै आएको छ ।

 

प्रकाशित मिति: बुधबार, असार ३, २०७७  ०६:३८
प्रतिक्रिया दिनुहोस्
Weather Update