Sajha Boli :: Nepal’s Reliable Digital Newspaper

काठमाण्डौं – कोरोना कहरका बीच लकडाउनका कारण ठुला औपचारिक कार्यक्रम हुन पाएका छैनन् । लकडाउन खुकुलिएसँगै सानातिना कार्यक्रम भने फाट्टफुट्ट सुरु भएका छन् । जनयुद्धका शहीद तत्कालिन माओवादीका केन्द्रीय नेता रित बहादुर खड्काको स्मृतिमा विगत वर्षहरुमा असार २ गते विशेष कार्यक्रम हुने गर्थ्यो । तर कोरोना महामारीका कारण यो वर्ष खासै विशेष कार्यक्रमको आयोजना गरिएन । नेकपा नेता कार्यकर्ताहरुले सामाजिक सञ्जालमै शहीद प्रतापलाई सम्झिए र श्रद्धाञ्जली दिए ।

केही नेता कार्यकर्ताहरुको भने सायद मन मानेन । उनीहरु श्रद्धाञ्जलीका लागि काठमाण्डौं पेरिसडाँडा स्थित नेकपा केन्द्रिय कार्यालयमै भेला भए । शहीद स्तम्भ अगाडी राखिएको शहीदको फोटोमा श्रद्धाञ्जली अर्पण गरेपछि केही नेताहरु बोले । त्यसमध्येमा एकजना थिए, वाग्मती प्रदेशका नेता शंकर लामा । बोल्दाबोल्दै उनी यसरी भक्कानिए, उनको गला नै अबरुद्ध भयो ।

राजनीतिक आन्दोलनमा शहीद रित बहादुरसँगको लामो सहकार्य र त्यतिबेला देखिएका सपना सम्झेर उनी त्यसरी भक्कानिएका हुन् । दोलखामा तत्कालिन माओवादीका पाँच जना संस्थापक नेता गंगा कार्की (विश्व), रित बहादुर खड्का, पुर्ण बहादुर खड्का र हेम श्रेष्ठसगै लामापनि एक थिए ।

“हामी पाँचजना मध्ये उहाँ बितेर जानुभयो, जनता र कार्यकर्ताको मनोविज्ञान बुझेर निर्णय गर्ने उहाँको विशेषता थियो, भक्कानिँदै लामाले भने शहीदहरुको सपना हामी बाँचेकाहरुले पुरा गर्नुपर्छ ।” उनले यसो भन्दै गर्दा उपस्थित सबैका आँखा ओभानो रहेनन् । 

अहिले युनिफाईड नहुँदा पार्टी छ की छैन जस्तो परिस्थिति बनेको उनले बताए । “पार्टी युनिफाईट नहुँदा कमजोर हुन्छ, त्यही कारण अहिले भारतले हेपिरहेको छ, यो कुरा पार्टीका ठुला नेताहरुले बुझ्नुपर्छ, उनले थपे । लामा आफैले पनि जनयुद्धकै क्रममा आफ्नो जिवनसंगिनी गुमाएका थिए ।

जनयुद्धका शहीद खड्काको असार २ गते रौतहटको पिपराहमा हत्या भएको थियो । खड्काको जन्मस्थान दोलखा गौरीशंकर गाउँपालिकाको जुँगुमा बृक्षारोपण समेत गरिएको छ ।

प्रकाशित मिति: बुधबार, असार ३, २०७७  ००:२६
प्रतिक्रिया दिनुहोस्
Weather Update