–डा. बावुराम भट्टराई
जतिबेला महान् जनयुद्धका दशाौं हजार बीर शहिदहरु सबै नै जनक्रान्तिको आकाशका कहिल्यै नअस्ताउने तारा हुनुहुन्छ । त्यसैले सबै नै प्रातस्मरणीय हुनुहुन्छ । उहाँहरुको महान् वलिदान र योगदानको कसैले कहिल्यै अवमूल्यन गर्न सक्दैन, हुँदैन । शहीदका योगदानहरु अमूल्य हुन्छन् । त्यसैले एउटाको मूल्यांकन गर्दा अर्कोको अवमूल्यन गरेको ठान्नु हुन्न । परन्तु महान् वलिदानको आकाशका ती ताराहरुमध्ये चौतर्फी प्रतिभाको हिसाबले एउटालाई छान्नुपर्दा महान शहिद क. रित बहादुर खड्का (प्रताप) चम्किलो तारा) लाई सबैले निर्विवाद रुपले छान्नेछन् ।
पारिवारिक पृष्ठभूमि र जीवनयात्रा :
२०२८ भाद्र १० गते विकट पहाडी जिल्ला दोलखाको उत्तरी भेग स्थित गाउँ जुँगुमा निम्नमध्यमवर्गीय किसान परिवारका दशौं सन्तानका रुपमा जन्मिएर वाल्यकालदेखि नै जुझारु किसान संघर्षको भेलमा हेलिँदै र कम्युनिष्ट आन्दोलनका उकालीओरालीहरु व्यहार्दै अन्ततः ३१ वर्षको जवान उमेरमै महान् जनयुद्धको दौरानमा गौरवशाली क्रान्तिकारी पार्टी नेकपा (माओवादी) को बैकल्पिक केन्द्रीय सदस्यको रुपमा २०५९ सालअसार २ गते तराईको जिल्ला रौतहटको पिपराहमा गौरवपूर्ण शहादत प्राप्त गर्नुहुने क. रीत बहादुर खड्काको क्रान्तिकारी जीवनी कुनै दन्त्यकथाका नायकको भन्दा कम सनसनीपूर्ण र प्रेरणादायी छैन ।
राणाकालीन सामन्ती पितृसतात्मक समाजमा महिला उत्पीडनको प्रतिमूर्ति बनेकी शहीदकी आमा मनमाया खड्काको मुखबाट वर्णित गाउँलो किसान पारिवारिक पृष्ठभूमिले समकालीन कम्युनिष्ट क्रान्तिकारीहरु सबैको औषत पारिवारिक पृष्ठभूमिको प्रतिनिधित्व गर्दछ र नयाँ जनवादी क्रान्तिमा पूरै परिवार होमिनुको औचित्य पुष्टि गर्दछ ।
२०३८ सालमा रहस्यमय तरिकाले जेलमै हत्या गरिएक सहोदर दाज्यू ज्ञान बहादुर खड्काको प्रेरणाले क्रान्तिमा होमिएका क. रीत बहादुरको जीवनीले त्यस्तै परिवेशमा क्रान्तिकारी आन्दोलनमा होमिएका लेनिन र पुष्पलालको जीवनीको झल्को दिन्छ । बहिनी देवी खड्का, भाई विशाल खड्का लगायत परिवारका प्रायः सबै नै क्रmान्तिकारी आन्दोलनमा होमिएको र जेल, यातनाको अनगिन्ति श्रृंखला पार गर्दै निरन्तर संघर्ष र वलिदानको यात्रामा लामवद्ध भैरहेको पारिवारिक परिवेशलाइ हेर्दा परिवारमाथि क. रीतबहादुरको र क. रीतबहादुरमाथि परिवारको प्रभावको द्धन्दात्मक अन्तरसम्बन्धलाई बुझ्न कुनै कठिनाई पर्दैन ।
यो वास्तवमै एउटा असल कम्युनिष्ट क्रान्तिकारी परिवारको बेजोड नमूना बन्न सक्दछ र यसबाट अरु थुप्रै कान्तिकारीहरुका परिवारहरुले राम्रो पाठन सिक्न सक्दछन् । वालिका शहीदपुत्री संझना खड्काले समेत “म ठूलो भएपछि बाबा जस्तै हुन्छु” भन्नुलाई शहीदको रक्तबीज निरन्तर त्रान्तिको निम्ति कति महत्वपूर्ण हुन्छ भन्ने राम्रो झल्को दिन्छ ।
दश वर्षको उमेरमा नै किसान बिद्रोहमा संलग्न भएर पछि विद्यार्थी आन्दोलन र एमाले समुह हुँदै २०४८ साल देखि तत्कालीन एकता केन्द्र र पछि माओवादी पार्टीको जिल्ला, क्षेत्र हुँदै केन्द्रीय नेतृत्वसम्मको क. रीत बहादुरको राजनीतिक यात्रा साँच्चै नै रोमाञ्चक र प्रेरणादायी छ । २९ वर्षको कलिलो उमेरमा नै नेकपा (माओवादी) जस्तो सशस्त्र जनयुद्धको नेतृत्व गरेर संसारलाई नै हल्लाईदिने क्रान्तिकारी पार्टीको केन्द्रीय नेतृत्वसम्म पुग्नुले उहाँमा अन्तरनीहित बिशिष्ट प्रतिभा, क्षमता र वलिदानी भावना कै प्रतिबिम्वन गर्दछ । उहाँको चातुर्दिक क्षमता मध्ये विवेकपूर्ण साहसको पाटो सम्भवत ः सबभन्दा उल्लेखनीय छ, जुन वहाँले २०५४ माघमा पक्राउ परेपछि २०५५ कात्तिक १६ गते राती काठमाण्डौंको वीर अस्प्तालमा उपचार गर्न लगेको बेलामा हत्कडी सहित सफलतापूर्वक बन्दीजीवन तोडेर स्वतन्त्र क्रान्तिकारी जीवनमा फर्केको घट्नाले यथेष्ठ पुष्टि गर्दछ ।
आफ्नौ भौतिक जीवनको अन्तिम क्षणमा पनि पार्टीको प्रवासमा भएको बैठक सकेर देश भित्र प्रवेश गर्न लाग्दा रौतहटको पिपराहामा दुश्मनको सशस्त्र घेराबन्दीमा परेपछि आत्मसमर्पण गर्नुभन्दा साहपूर्वक घेरा तोड्ने प्रयास गर्दा बीरतापूर्ण शहादत प्राप्त गर्नुले वहाँमा अन्तरनिहित अदम्य साहस र वीरताको उच्चकोटीको परिचय दिन्छ ।
सबैको नजरमा क. रित बहादुर खड्का एक बहुआयामिक र बहुप्रतिभाशाली व्यक्तित्व हुनुहुन्थ्यो । सधै हंंसमुख, क्रियाशील, साहसी, सिर्जनशील, अध्ययनशील वहाँका चारित्रिक विशेषता थिए । कुशल वक्ता, कुशल संगठक, कशल कमाण्डर जस्ता गुणहरु एकै व्यक्तिमा संकेन्द्रित भएको अक्सर कमै देख्न पाईन्छ, जुन वहाँमा थियो ।
वैचारिक, राजनीतिक, सांगठनिक, फौजी र सौन्दर्यशास्त्रीय ज्ञान र दक्षताको सन्तुलित संयोजन क. रित बहादुरमा देख्न सकिन्थ्यो । वहाँले आफ्नो छाटो तर असाध्यै तीब्र गतिको राजनीतिक जीवनमा विद्यार्थी नेता, पार्टी सेक्रेटरी, जनसरकार प्रमुख, वटालियन कमिसार जस्ता सांगठानिक र फौजी जिम्मेवारीदेखि सिद्धहस्त लेखक, बक्ता, कवि आदि भूमिका कुशलतापूर्वक निभाउन भएबाट उहाँको बहुप्रतिभावाशाली र बहुआयामिक व्यक्तित्वको राम्रो पुष्टि हुन्छ । त्यस अर्थमा क. रित बहादुर नेपाली क्रान्तिकारी आकाशमा एउटा असाध्यै चम्किलो तारा हुनुहुन्थ्यो भन्दा पटक्कै अत्युक्ति र औपचारिकता हुँदैन, बरु सत्य, तथ्य र ईतिहाँस प्रति पूर्ण न्याय हुन्छ ।
बैचारिक राजनीतिक योगदान :
अन्ततः एउटा उत्कृष्ट कम्युनिष्ट क्रान्तिकारीको समग्र मुल्यांकन उसको वैचारिक राजनीतिक प्रतिवद्धता, चिन्तन र व्यवहारको आधारमा नै हुन्छ । अरु जतिसुकै राम्रा गुण र बेडोड प्रतिभा भएपनि यही सही सर्वहारावादी दृष्टिकोण र क्रान्तिकारी वैचारिक राजनीतिक कार्यदिशा प्रति प्रतिवद्धता र तदनुरुप आचरण भएन भने अरु सबै गुणहरु वर्गीय वर्गीय हिसाबले दुर्गुण र अभिशापमा बदलिन्छन् । बर्गीय समाजमा मानिसका प्रतिभा र क्षमत नि बर्गीय स्वार्थको कसौटीमा मात्र जाँच्न सकिन्छ ।
त्यस हिसाबले क. रित बहादुर खड्का (प्रताप) को महानता वहाँको सही मालेमावादी चिन्तन र हमेशा क्रान्तिकारी राजनीतिक कार्यदिशा प्रतिको प्रतिवद्धताको कसौटीमा नै हामीले खोज्न र देख्न सक्नुपर्छ । वाल्यकालको परिस्थितिजन्य अवस्थामा वहाँले एमाले समुहबाट आफ्नो राजनीतिक यात्रा सुरु गुर्नभएपनि बीस वर्ष पुग्दानपुग्दै वहाँले दषिणपनथी संशोधनवाद र सुधारवादसँग निर्णायक सम्बन्ध विच्छेद गरेर क्रान्तिकारी मालेमावादी मूल प्रवाहमा समाहित हुनुभयो ।
त्यसपछि जीवन पर्यन्त वहाँले पार्टीभित्र र बाहिर सबैखाले अवसरवाद र मूलतः दक्षिणपन्थी संशोधनवादसँग सम्झौताहीन संघर्ष गरिरहनुभयो । वहाँका थुप्रै राजनीतिक लेखहरु र पार्टीका बहसहरुमा वहाँको त्यो क्रान्तिकारी पक्षधरता स्पष्ट र निरन्तर रुपमा अभिव्यक्त भईरह्यो । खासगरी तत्कालीन पूर्वी कमाण्डमा वौरिक राजनीतिक रुपमा दक्षिणपन्थी अवसरवादसँग नै मुख्य रुपमा जुझनु परिरहेको अवस्थामा वहाँको त्यो स्पष्ट क्रान्तिकारी पक्षधरता र आक्रमक शैलीले जनयुद्धलाई पुर्वी कमाण्डमा तीब्र रुपले विस्तार गर्न महत्वपूर्ण भूमिका खेल्यो । त्यसैले वहाँलाई २०५४ सालमा सुराकी गरेर गिरफ्तार गराउने देखि २०५९ मा शहादत वरण गराउने घट्ना घटाईयो ।
त्यस अर्थमा क. रित बहादुरको शहादत देशी र विदेशी प्रतिक्रियावादसँग लड्ने क्रममा मात्र नभएर कम्यूनिष्ट आन्दोलन भित्रको दक्षिणपन्थी अवसरवादसँग लड्ने सनदर्भमा पनि थियो भनेर सबै सच्चा कम्युनिष्ट क्रान्तिकारीहरुले बुझनु जरुरी छ ।
क. रित बहादर खड्काको समग्र राजनीतिक योगदानको चर्चा वहाँले नांगो रुपमा देखिने दक्षिणपन्थी संशोधनवाद विरुद्ध गरेको संघर्षको अतिरित्त वाम खोलमा पस्तुत हुने जडसूत्रिय संशोधनवाद, जसको जनयुद्धकारी पार्टी र आन्दोलन भित्रको बिशिष्ट प्रवृत्ति थियो, त्यसका विरुद्ध गरेको उत्तिकै महत्वपुर्ण संघर्षलाई पनि बिर्सनु हुँदैन ।
हाम्रो जस्तो न्यून पुँजीवादी वर्गीय आधार र सामन्ती पाखण्डी संस्कृतिको वोलवाला भएको समाजमा कम्युनिष्ट पार्टी भित्र अवसरवाद सिधैं दक्षिणपन्थी ढोकावाट मात्र नछिरेर वाम रंगको जस्केलाबाट पनि अक्सर छिर्दछ भन्ने कुरालाई क्रान्तिकारीहरुले विशेष ख्याल राख्नु पर्दछ ।
उग्र क्रान्तिकारी कुरा गरेर आफ्नो दक्षिणपन्थी आत्मसमर्पणवादी र विसर्जनवादी प्रवृत्ति र पाखण्डी आचरण र संस्कारलाई लुकाउने र क्रान्तिकारी कार्यकर्ताहरुलाई झुक्याउने प्रवृत्ति पार्टीमा छ । त्यो प्रवृत्ति पार्टी र आन्दोलन भित्र पटक पटक दोहोरिन सक्छ । किनकी वस्तुगत रुपमा न्युन पुँजीपति (किसान) वर्गको वाहुल्य रहेको र आत्मगत रुपमा जनयुद्धको महान क्रान्तिकारी प्रक्रियाबाट गुज्रिएर आएको पार्टी र आन्दोलनमा त्यसको पूनरावृत्ति भईरहने वस्तुगत र आत्गत आधार रहन्छ । त्यसैले क. रित बहादुरले दक्षिणपन्थी संशोधनवादका साथसाथै वाम खोल ओढेके अवसरवादी प्रवृत्ति विरुद्ध लड्ने प्रक्रियामा नि जुन भूमिका निर्वाह गर्नुभयो त्यसबाट सबै सच्चा क्रान्तिकारीहरुले गहिरो पाठ सिक्नै पर्दछ ।
समकालीन विश्व र नेपाली सन्दर्भमा वैचारिक, राजनीतिक क्षेत्रमा ध्यान दिनुपर्ने मुख्य कुरा भनेकै मालेमावादी क्रान्तिको विज्ञानको रक्षा, प्रयोग र विकासको प्रश्न हो । एकातिर दक्षिणपन्थी संशोधनवादी भ्रष्टीकरणबाट यो विज्ञापनका आधारभुत सिद्धान्त र मुल्यमान्यताहरुको रक्षा गर्नुछ भने अर्कोतिर रक्षाको नाउँमा विज्ञानका नियमहरुलाई पण्डितहरुले गायत्रीमन्त्र जपे झै जपेर बस्ने प्रवृत्तिसँग पनि लड्नुछ । विज्ञानका नियमहरुको रषा तिनलाई समयानुकुल ठोस स्थितिको ठोस मुल्यांकन गर्दै प्रयोग गर्ने र विकास गर्ने तरिकाले मात्रै हुन सक्छ अर्थात विकास गर्ने नाउँमा भ्रष्टीकरण गर्ने अनुभववादी प्रवृत्ति र रक्ष ागर्ने नाउँमा छेपारोले खाँवो अँठ्याए झै अँठ्याएर बस्ने जडसूत्रवादी प्रवृत्तिबाट बचाएर नै क्रान्तिकारी सिद्धान्तको रक्षा, प्रयोग र विकास गर्न सकिन्छ ।
यस सन्दर्भमा क. रित बहादुर खड्काले ती दुवै हानिकारक प्रवृत्तिसँग लड्दै मालेमावादको रक्षा, प्रयोग र विकासमा गर्नुभएको योगदानलाई सबै ईमान्दार क्रान्तिकारीहरुले गम्भिरतापूर्वक आत्मसाथ गर्नु पर्दछ ।
बैचारिक राजनीतिक क्षेत्रमा योगदानको अतिरिक्त क. रितबहादुरले साहित्यिक क्षेत्रमा गर्नुभएका योगदानहरु पनि उत्तिकै महत्वपुर्ण छन् । प्रगतिवादी कोणबाट वहाँले विभिन्न साहित्यिक निवन्ध, संस्मरण, कथा, कविता पनि लेख्नुभएको छ । ती रचनाहरुमा वहाँको सामाजिक, यथार्थवादी र प्रगतिवादी सौन्दर्य चेतना राम्ररी मुखरित भएका छन् । यसरी राजनीतिक र साहित्यिक व्यक्तिको सुन्दर संयोजन क. रित बहादुरमा पाउन सकिन्छ, जसबाट नयाँ पिंढीका युवा क्रान्तिकारीहरु र साहित्यिक सर्जकहरुले उचित प्रेरणा लिनै पर्दछ ।
अन्तमा क्रान्तिकारी प्रेरणा लिँदै आत्मासाथ गरेर वहाँको अधुरो सपना पूरा गर्नु नै क्रान्तिकारी योद्धाहरुको दायित्व हो । महान् शहीदहरु प्रति सच्चा श्रद्धाञ्जली अर्पण गर्नु भनेकै वहाँहरु प्रति ओठे भक्ति देखाउनु र वहाँहरुको अतिरञ्जित बखान गर्नुसट्टा वहाँहरुले देखाएको त्याग बलिदानको बाटोमा अन्त्यसम्म दृढ रहेर नयाँ जनवादी क्रान्ति सम्पन्न गर्दै समाजवाद र साम्यवाद प्राप्तिको मार्ग प्रशस्त गर्नु हो । यस सन्दर्भमा शहीदकी आदरणीय आमा मनमाया खड्काले व्यक्त गर्नुभएका निम्न विचार हामी सबैका निम्ति मार्ग निर्देशन बनुन् –छोराको भौतिक शरीर ढलेपनि उसको आस्थाको धरहरा नढलोस् । उ कहिल्यै नफर्किने भएपनि उसले हिडेको गोरेटो चाहीं नमेटियोस् । उ शहीद भएर पनि क्रान्ति सहीद नबनोस् ।”