चरिकोट - सरकारले नयाँ आर्थिक वर्ष दोलखाका महत्वपूर्ण मानिएका ठुला विकासे आयोजनाहरु कार्यान्वयन अघि बढाउने भएको छ । सरकारले नयाँ आर्थिक वर्ष २०७७/७८ का लागि ल्याएको बजेटमा ठुला विकासे योजनाहरु समेटिएका हुन् । जिल्लाका एक दर्जन बढि ठुला पुर्वाधार र रणनैतिक सडक योजनाहरु केन्द्रिय बजेटमा समावेश भएका हुन् ।
जसअनुसार नयाँ आर्थिक वर्ष उत्तर दक्षिण राष्ट्रिय राजमार्गको तामाकोशी कोरिडर अन्तर्गत लामाबगर – लाप्ची सडक खण्डमा पर्ने सुरुङ मार्गको विस्तृत अध्ययन कार्य पुरा गरी निर्माणका लागि टेन्डर हुनेछ ।
उक्त योजना सरकारको केन्द्रिय कार्यक्रम र बजेटमा पहिलो पटक समेटिएको हो । यसैगरी भिट्टामोड–जलेश्वर–बर्दिवास–खुर्कोट–मन्थली–तामाकोशी–सिंगटी–लामाबगर–लाप्चेगाउँ उत्तर दक्षिण राष्ट्रिय राजमार्ग अन्तर्गतको तामाकोसी करिडोरलाई पनि बजेटले सम्वोधन गरेको छ । उक्त योजनापनि केन्द्रिय बजेटमा पहिलो पटक परेको हो । सो योजना यसअघि सडक विभागको कार्यक्रममा समावेश थियो ।
निर्वाचन क्षेत्र रणनैतिक सडक अन्तरगत मुडे–मेलुङ दोलखा चक्रपथ सडक अन्तरगत बाघखोर–भैंसे–मेलुङ सडक खण्ड निर्माण कार्यपनि नयाँ आर्थिक वर्षमा सुरु गरिने भएको छ । बजेटमा उक्त योजनाको विस्तृत अध्ययन प्रतिवेदन तयार गरी निर्माण कार्य सुरु गर्ने भनिएको छ ।
यस्तै वैकल्पिक सहायक राजमार्ग विकास कार्यक्रम पनि अघि बढ्ने भएको छ । जस अन्तर्गत पुष्पलाल मार्ग चनौटे–बाँझे–झुले–जिरी सडक र किराँती छाप–२१ किलो सडक खण्ड नयाँ वर्षको बजेटमा समाबेश छ । बहुबर्षिय बृहत योजनाको रुपमा विगतदेखि नै काम भइरहेको लामोसाँगु–मुडे–चरिकोट–तामाकोशी–जिरी सडक स्तरोन्नती र कालोपत्रे गर्ने योजनालाई नयाँ आर्थिक बर्षको बजेट कार्यक्रममा निरन्तरता दिईएको छ ।
सडक पुर्वाधार विकास कार्यक्रम अन्तरगत दोलखामा ९ वटा रणनैतिक सडक निर्माण कार्य पनि अघि बढ्ने भएको छ । जसका लागि बजेट छुट्याइएको छ । स्थानीय सडक पुल निर्माण अन्तरगत १३ वटा सडक पुल निर्माण हुनेछन भने थप २ वटाको विस्तृत अध्ययन प्रतिवेदन तयार हुनेछ ।
महिला, वालवालिका तथा जेष्ठ नागरिक मन्त्री पार्वत गुरुुङले प्रदेश सरकार र स्थानीय तहबाट निर्माण हुने थप रणनैतिक सडक आयोजनाहरु सम्पन्न भएपछि दोलखा स्थानीय, राष्ट्रिय र अन्तरराष्ट्रिय सडक संजालमा जोडिने बताए ।
कोरोना भाईरस (कोभिड १९) का कारण भौतिक पुर्वाधार अन्तर्गतका विकासका योजनाहरुमा प्रभाव पारेपनि विगतदेखि चलिरहेका योजना र यस आर्थिक बर्षमा सुरु गरिएका नयाँ योजनाहरु बजेट कार्यक्रममा समावेश भएका छन्, समृद्ध दोलखा, सुखी दोलखालीको प्रतिबद्धता पुरा गर्ने प्रयास जारी छ, उनले भने ।