Sajha Boli :: Nepal’s Reliable Digital Newspaper
दोलखा डेरीबाट मापदण्डबिपरित दुग्धजन्य पदार्थ बिक्रीबितरण

चरिकोट - दोलखा सदरमुकाम चरिकोट नजिकै चोथाङमा संचालित डेरीमा म्याद गुज्रिएका दुध तथा दुधजन्य बस्तु बिक्रिबितरण गरेको पाईएको छ । घरेलु तथा साना उद्योग कार्यालयले बिहिवार गरेको अनुगमनका क्रममा डेरीमा गुणस्तरहिन खाद्यबस्तु बिक्रिवितरण गरेको भेटिएको हो ।

उक्त डेरी दुग्ध विकास संस्थान (डिडिसी) को स्वामित्वमा संचालन हुँदै आएको छ । घरेलु तथा साना उद्योग कार्यालयका अनुसार अनुगमनका क्रममा एकमहिनादेखि उत्पादन मिति र मूल्य उल्लेख नगरीकन नै दुग्धजन्य उत्पादन बिक्री गरेको पाईएको छ ।

गुणस्तरहिन उपभोग्य बस्तु बिक्रिबितरण गरेको पाईएपछि उद्योग बन्द गर्न भनिएको छ । कार्यालय प्रमुख सुजित कुमार झाका अनुसार बिहिवार सदरमुकाम चरिकोट स्थित दुईओटा उद्योग र पाँचओटा पसलमा अनुगमन गरिएको थियो ।

डेरी संचालकहरुलाई प्रादेशिक व्यापार तथा व्यवसाय सम्वन्धी ऐन २०७६ अनुसार पुर्जी काटेर उद्योग बन्द गरी कागजात सहित उपस्थित हुन निर्देशन दिईएको प्रमुख झाले जानकारी दिए ।

दोलखा डेरीले एकमहिनादेखि उत्पादन र म्याद नाघ्ने मिति नराखेको, मूल्य उल्लेख नगरेको र आधा लिटर उल्लेख दुध दहिमा १० देखि २५ मिलिलिटर कम परिमाण भेटिएको अनुगमन समितिले जनाएको छ । प्रादेशिक व्यापार तथा व्यवसाय सम्वन्धी ऐन २०७६ को दफा ६१ को जरीवाना सम्वन्धी व्यवस्थाको उपदफा ३ मा ५० हजारदेखि ७५ हजारसम्म जरीवाना गर्नसक्ने व्यवस्था छ ।

प्रकाशित मिति: बिहीबार, जेठ २९, २०७७  १७:२४
प्रतिक्रिया दिनुहोस्
Weather Update