२८ माघ, चरिकोट । चालु आर्थिक वर्षमा मत्स्य र पशुपालन गर्ने दोलखा र सिन्धुपाल्चोकका कृषकहरुले झण्डै ४ करोड रुपैँया बरावर अनुदान पाउने भएका छन् । यो वर्ष रेन्वो ट्राउट माछापालनका लागि २ करोड ५० लाख अनुदान दुई वटा जिल्लामा भित्रिने भएको छ । यसैगरी गाईभैँसी, वाख्रापालन र अन्य पुर्वाधार निर्माण सहित सामाग्री खरिदतर्फ १ करोड ३५ लाख बरावरको अनुदानबाट दुई जिल्लाका कृषकहरु लाभान्वित हुने भएका छन् ।
बाग्मती प्रदेश भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय अन्तर्गतको पशुपंक्षी तथा मत्स्य विकास निर्देशनालयले कुल ३ करोड ८५ लाख रुपैयाँ बरावरको अनुदान दुई जिल्लाका मत्स्य र पशुपालक कृषकलाई बितरण गर्नेगरी अख्तियारी पठाएको हो ।
दोलखा सदरमुकाम चरिकोट स्थित भेटनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले उक्त अनुदानका लागि परेका प्रस्तावहरु मुल्यांकन गरी योग्य कृषकहरुको नतिजा सार्वजानिक गरेको छ । केन्द्रका प्रमुख, बरिष्ठ पशु विकास अधिकृत राम कुमार कार्कीले स्थलगत अनुगमनका क्रममा मापदण्ड पुरा गरेका योग्य कृषकहरुको प्रस्ताव मुल्यांकन गरी सम्झौता प्रक्रिया सुरु गरिएको जानकारी दिए ।
जस अनुसार रेम्वो ट्राउट पालनका लागि सिन्धुपाल्चोकका ८ र दोलखाका ४ व्यवसायीहरुले अधिकतम २५ लाखसम्म अनुदान पाउँदैछन् । यसैगरी दुई जिल्लाका २० जना बाख्रापालक कृषकले २ लाख रुपैँयाका दरले ४० लाख र गाईभैसि पालनका लागि १५ जना कृषकले ३ लाखका दरले जम्मा ४५ लाख अनुदान प्राप्त गर्नेछन् ।
गोठखोर तथा मत्स्य पोखरी सुधारका लागि १५ कृषकले २ लाख रुपैयाँका दरले ३० लाख, मासुपसल सुधार कार्यक्रमका लागि १८ जना कृषकले जनही ५० हजार रुपैँयाका दरले ९ लाख, च्यापकटर खरिदका लागि १४ कृषकले जनही ३० हजार र १० वरावरको मिल्क क्यान पाउने भएका छन् ।
दुई वटा नमुना कृर्षि फर्म विकास तथा विस्तारका लागि दुई वटा फर्मले ५÷५ लाखका दरले अनुदानका लागि छनौटमा परेका छन् । भेडापालन, पशु आहारा कार्यक्रमका लागि पनि कृषकहरुले अनुदान पाउनेछन् ।
लाभग्राही कृषकले ५० प्रतिशत बरावरको थप लगानी ब्यहोर्नेगरी कार्यक्रम कार्यान्वयन गर्नुपर्ने भेटनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले जनाएको छ ।