Sajha Boli :: Nepal’s Reliable Digital Newspaper
चितवनमा रविबिरुद्ध मुद्धा दर्ता लगत्तै सरकारी वकिलको सरुवा

चितवन । चितवनमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने बिरुद्ध मुद्धा दर्ता लगत्तै सरकारी वकिलको सरुवा गरिएको छ । सहारा सहकारीको रकम हिनामिना प्रकरणमा लामिछानेसहित २० जनालाई ठगी र १२ जनालाई संगठित अपराधमा चितवन जिल्ला अदालतमा मुद्दा दर्ता गरिएको थियो । उक्त मुद्दामा प्रहरी प्रतिवेदनले लामिछानेलाई संगठित अपराध र ठगी दुवै मुद्दा लगाउन सुझाव दिएको थियो ।

तर, जिल्ला न्यायाधीवक्ता शान्तिप्रसाद लुइँटेलले लामिछाने एउटा मात्रै संस्थामा आबद्ध देखिएकोले कानुनले व्याख्या गरेको संगठित अपराधको परिभाषाभित्र उनको अपराध नदेखिने निक्र्यौल गरी ठगीमा मात्रै मुद्दा दर्ता गरिएको थियो । यद्यपि लामिछानेसँगै गोर्खा मिडिया नेटवर्कमा आबद्ध तीन जनालाई भने संगठित अपराधमा मुद्दा दर्ता गरिएको थियो ।

लुइँटेललाई मुद्दा दर्ता भएको केही बेरमा नै महान्यायाधीवक्ताको आदेशमा काठमाडौँ तानिएको बुझिएको छ । उनलाई महान्यायाधीवक्ताको कार्यालयमा तान्नेगरि सरुवा गरिएको पत्र हिजै पठाइएको बुझिएको छ । सरुवाको पत्र प्राप्त भए लगत्तै रवि लामिछानेसहितको ठगी तथा संगठित अपराधको मुद्दामा उनले बहस नगर्ने भएका छन् ।

स्रोतका अनुसार आज बिहानै जिल्ला न्यायाधीवक्ता लुइँटेलले चितवन छोडिसकेका छन् ।

लुइँटेल काठमाडौँ तानिए लगत्तै आजै चितवनमा उच्च सरकारी वकिल कार्यालय बुटवलका उप न्यायाधीवक्ता रवि न्यौपाने हाजिर हुने भएका छन् । उनलाई बुटवलबाट चितवन पठाउने हिजै निर्णय गरिएको बुझिएको छ ।

प्रकाशित मिति: बुधबार, माघ २३, २०८१  ०७:५७
प्रतिक्रिया दिनुहोस्
Weather Update