काठमाडौं । सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–२ स्थित राङ्बुसा जंगलमा लागेको आगो अझै नियन्त्रणमा आउन सकेको छैन । उक्त जंगलमा गत शुक्रबारदेखि आगलागी सुरु भएको थियो । डढेलो नियन्त्रण गर्न सोमबार दिनभर हेलिकप्टरबाट पानी खन्याइएपनि सफल हुन सकेन । स्थानीयका अनुसार अहिले पनि आगो नियन्त्रणमा आउन सकेको छैन ।
शुक्रबारबाट सुरु भएको आगलागीबाट ३५ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिसकेको छ । अरनिको राजमार्ग अन्तर्गत नेपाल र चीनको सिमानामा पर्ने कोदारी क्षेत्रको यो जंगलमा आगो लागेको हो ।
नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीय लगायतले आगो नियन्त्रणमा लिने प्रयास भने जारी रहेको स्थानीय जनप्रतिनिधिले जानकारी दिएका छन् । लिपिङ बजारमाथिको भिरबाट डढेलो सुरु भएको थियो ।
केहीदिन अघि काभ्रेपलाञ्चोकको बेथानचोक र खानीखोला गाउँपालिकामा लागेको डढेलो झण्डै एक सातापछि नियन्त्रणमा आएको थियो ।