काठमाडौं । अपर तामाकोशी हाइड्रो पावर लिमिटेडको बोर्ड बैठक सदस्यहरुले बहिष्कार गरेका छन्। बोर्डको अध्यक्ष नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक रहने ब्यबस्था छ । अध्यक्षको हैसियतमा निर्देशक कुलमान घिसिङले बोलाएको बैठक ‘कोरम’ नपुगेपछि स्थगित गरिएको हो ।
स्रोतका अनुसार बैठक मंगलबारका लागि डाकिएको थियो । बैठकमा बहुमत सदस्य उपस्थित भएनन् ।
बोर्डमा अध्यक्ष घिसिङ बाहेक नेपाल टेलिकमका प्रबन्ध निर्देशक, कर्मचारी सञ्चयकोषका प्रमुख प्रशासक पनि सञ्चालक समिति सदस्य छन् । सर्वसाधारण सेयरधनीका तर्फबाट चार जना सञ्चालक बोर्डमा रहन्छन् ।
नागरिक लगानी कोष तथा राष्ट्रिय बीमा संस्थानबाट स्थायी आमन्त्रित सदस्यका रूपमा बोर्डमा प्रतिनिधित्व गर्छन्।
१० जनाको बोर्डमा ६ अनुपस्थित भएको बताईएको छ। त्यसपछि सञ्चालक समिति बैठक नै बस्न नसकेको प्राधिकरण स्रोतले बतायो ।
स्रोतका अनुसार बोर्ड सदस्यहरू घिसिङलाई मन्त्रालयले स्पष्टीकरण सोधेकोले बैठकमा उपस्थित नभएका हुन।
बैठकमा नेपाल टेलिकमकी प्रबन्ध निर्देशक संगीता पहाडी, विद्युत् प्राधिकरणकै तीन उपकार्यकारी निर्देशकहरू रामजी भण्डारी, लोकहरि लुइँटेल र मदन तिम्सिना, सञ्चालकहरू राजन श्रेष्ठ र दीपक कार्की उपस्थित थिएनन्।
बाढीले क्षतिग्रस्त अपर तामाकोसी जलविद्युत् आयोजना मर्मत ठेक्का प्रक्रिया नपुर्याइ दिइएको र त्यसको भुक्तानी सम्बन्धी एजेन्डा बोर्ड बैठकमा राख्ने तयारी थियो ।