चरिकोट - दोलखा सदमुकाम चरिकोटका अगुवा व्यवसायी तथा घरधनीहरुले लकडाउन (बन्दावन्दी) अवधिको घरबहाल धमाधम छुट दिन थालेका छन् ।
कोरोना भाईरस (कोभिड १९) रोकथाम तथा नियन्त्रणका जारी गरिएको लकडाउनले जनजिवन कष्टकर बनेपछि उनीहरुले यस्तो निर्णय गरेका हुन् । एक सातामा चरिकोटका करिव एक दर्जन घरधनीहरुले घरवहाल छुट दिने घोषणा गरेका छन् ।
बुधवार चरिकोटका ७ जना व्यवसायी तथा घरधनीहरुले जेष्ठ महिनाको घरबहाल शतप्रतिशत छुट गरेको जानकारी दिएका छन् । घरवहाल छुट गर्नेहरुमा सदस्यहरु दिनेश बस्नेत, सुरेश उप्रेती, श्यामकृष्ण कायस्थ, सुन्दर कार्की, बलराम थापा, हिमाल न्यौपाने र दिनेश पाठक रहेका छन् । उनीहरुहरुले जनाए अनुसार १३ लाख ५७ हजार रुपैयाँ बरावरको घरबहाल छुट दिईएको हो ।
दोलखा उद्योग बाणिज्य संघका पुर्व अध्यक्ष समेत रहेका कार्कीले लकडाउनका कारण कष्टकर बनेको जनजिवनमा थोरै भएपनि राहत पुर्याउने उदेश्यले यस्तो निर्णय निर्णय गरिएको बताए ।
केही दिनअघि मात्रै सदरमुकाम चरिकोटका घरधनीहरु बलराम श्रेष्ठ, रामकृष्ण श्रेष्ठ, श्यामकृष्ण श्रेष्ठ र चोक बहादुर श्रेष्ठले पनि घरभाडा शतप्रतिशत छुट दिने घोषणा गरेका थिए । उनीहरुका अनुसार दुई वटा घरमा बस्ने २७ परिवारलाई घरभाडा छुट दिईएको हो ।