Sajha Boli :: Nepal’s Reliable Digital Newspaper
बहुबर्षीय योजनामा समेटियो लाामाबगर–भिट्टामोड लोकमार्ग, २० करोड बजेट
अर्थमन्त्रीसँग डेलिगेसन गएको जिल्लाका राजनितिक दलहरुको प्रतिनिधी मण्डल

चरिकोट । सरकारले भारत–चीन जोड्ने उत्तर–दक्षिण लोकमार्ग अन्तर्गत लामाबगर-भिट्टामोड सडक योजनाका लागि २० करोड स्रोतको सहमति प्रदान गरेको छ । अर्थमन्त्रालयको बजेट तथा कार्यक्रम महाशाखाका अनुसार उक्त सडकलाई बहुवर्षीय योजनामा समाबेश गर्दै स्रोत सुनिश्चित गरिएको हो । 

यो लोकमार्गका लागि मन्त्रालयबाट स्रोत सहमति प्रदान गरिएको पत्र प्राप्त भएको डिभिजन सडक कार्यालय चरिकोटका डिभिजन प्रमुख अमितकुमार श्रेष्ठले जानकारी दिए । ‘मन्त्रालयबाट नाकासम्म सडक जोड्ने, मर्मत, स्तरोन्नति गर्ने निर्देशनसहितको पत्र आएको छ,  प्रक्रिया पुरा गरेर टेन्डर मार्फत योजना कार्यान्वयन अघि बढाउछौँ, उनले भने ।’ 

भिट्टामोड–जलेश्वर–बर्दीबास–खुर्कोट–तामाकोशी–सिँगटी–लामाबगर–लाप्चे सडक नेपाल, भारत र चीन जोड्ने सबैभन्दा छोटो दूरीको त्रिदेशीय लोकमार्ग हो । महोत्तरीको भिट्टामोडदेखि दोलखाको लामाबगर हुँदै चीनको याङ्लुङसम्मको जम्मा दूरी २४८ किलोमिटर मात्रै छ ।

एमाले पोलिट व्युरो सदस्य पार्वत गुरुङले आफु संचार तथा सूचना प्रबिधि मन्त्री हुँदा २०७७÷०७८ को नीति तथा कार्यक्रम र बजेटमा यो लोकमार्गलाई पहिलो पटक राष्ट्रिय राजमार्गको रुपमा समाबेश गराएका थिए । त्यसपछि योजना कार्यान्वयनका लागि जिल्लाको सर्बदलीय टोली पटक पटक डेलिगेसन गएको थियो । 

एमाले दोलखाका उपाध्यक्ष राजेन्द्र मानन्धरले विगतको नीति तथा कार्यक्रममा समाबेश भएको योजनालाई निरन्तरता दिँदै सरकारले बजेट छुट्याउनु खुसीको विषय भएको बताए । उनका अनुसार एमाले दोलखाले यो विषयलाई सचिवालय बैठकको एजेन्डा बनाएर सरकारलाई धन्यवाद प्रस्ताव पारित गरेको छ । 

सडक डिभिजनका अधिकारीहरुका अनुसार चीनसम्म जोडिने सडकको बाँकी ट्रयाक खोल्न उक्त बजेट खर्च हुनेछ । महोत्तरीको भिट्टामोडदेखि लामाबगरको लप्ची र लुम्नाङ क्षेत्रसम्म सडक पहुँच पुगिसकेको छ । चीनको बोर्डर जोडिन अब लगभग ५÷६ किलोमिटर सडकको ट्रयाक खोल्नुपर्नेछ । 

त्यसका लागि चालु आर्थिक वर्षभित्रै टेन्डर आव्हान गरी सम्झौता गर्ने सडक डिभिजन कार्यालयको तयारी छ । सडक संजाल चिनियाँ नाकासम्म जोडिएपनि नाका खोल्न भने चीन हालसम्म तयार नभएको बताईएको छ । सडक संजाल जोडिएर नाका समेत संचालनमा आए नेपालको आर्थिक क्षेत्रको विकासमा महत्वपुर्ण टेवा पुग्ने सरोकारवालाहरुको अपेक्षा छ । 

FB_IMG_1737445056897-1737449719.jpg
 

प्रकाशित मिति: मंगलबार, माघ ८, २०८१  १५:३८
प्रतिक्रिया दिनुहोस्
Weather Update