काठमाडौं । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीमाथि कुटपिटमा संलग्न रहेको आरोपमा तीन जना प्रहरी हिरासतमा पुगेका छन् । प्रहरीले सोमबार झापा बुद्ध शान्ती गाउँपालिका–४ घर भई काठमाडौं शान्तीनगर बस्ने ५५ वर्षीकी शीतल राई भन्ने सितादेवी राईलाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार योसँगै त्रिपाठीमाथि कुटपिट आरोपमा पक्राउ परेका व्यक्तिहरूको संख्या ३ जना पुगेको छ । यसअघि हुम्ला अदानचुली गाउँपालिका–४ घर भई काठमाडौं सूर्यदर्शन हाइट ३२ वर्षीय महेन्द्र पाण्डे र दोलखा तामाकोशी गाउँपालिका–१, भिरकोट घर भई ललितपुर महालक्ष्मी–५ टिकाथली बस्ने ४८ वर्षीय ललितकुमार केसी पक्राउ परेका थिए । पक्राउ परेकाहरूलाई प्रहरी वृत्त सिंहदरबारमा राखेर थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।
सहकारी रकम अपचलनमा रविविरुद्धको मुद्दामा पीडितको पक्षमा बहस गरेका त्रिपाठी माथि यहि माघ २ गते काठमाडौं अदालतको परिसरमा हातपात भएको थियो ।