Sajha Boli :: Nepal’s Reliable Digital Newspaper
रोजगारीका लागि प्रत्येक महिना ६५ हजार बिदेशिँदै

काठमाडौं । रोजगारीको शिलशिलामा प्रत्येक महिना ६५ हजार जना बिदेशिरहेको तथ्यांकले देखाएको छ ।  वैदेशिक रोजगारीमा जानेको संख्या १५.४९ प्रतिशतले वृद्धि भएको हो । चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो ६ महिना (०८१ साउन १ गतेदेखि पुस मसान्तसम्म) वैदेशिक रोजगारीमा जान तीन लाख ९३ हजार ६७ जनाले श्रम स्वीकृति लिएको वैदेशिक रोजगार विभागले जनाएको छ । 

अघिल्लो आर्थिक वर्ष २०८०र८१ को सोही अवधिमा वैदेशिक रोजगारीमा जान विभागबाट तीन लाख ४० हजार ३३० जनाले श्रम स्वीकृति लिएका थिए । अघिल्लो आर्थिक वर्षको पहिलो ६ महिनाको तुलनामा चालु आर्थिक वर्षको सोही अवधिमा वैदेशिक रोजगारीमा जान ५२ हजार ७३७ जना बढीले श्रम स्वीकृति लिएको विभागको तथ्यांकले देखाउँछ ।

विभागले जारी गरेको विवरणअनुसार, २०८१ साउनदेखि पुस मसान्तसम्मको अवधिमा श्रम स्वीकृति लिनेमा तीन लाख ४८ हजार २४१ जना पुरुष र ४४ हजार ८२६ जना महिला छन् । वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेमध्ये ११.४० प्रतिशत संख्या महिलाको छ ।

चालु आर्थिक वर्षको पहिलो ६ महिनामा औसतमा प्रत्येक महिना ६५ हजार ५११ जनाभन्दा बढीले वैदेशिक रोजगारीमा जान विभागबाट श्रम स्वीकृति लिएका छन् । 

प्रकाशित मिति: आइतबार, माघ ६, २०८१  १५:०७
प्रतिक्रिया दिनुहोस्
Weather Update