Sajha Boli :: Nepal’s Reliable Digital Newspaper
माओवादी सिन्धुपाल्चोकका नेता रक्तचन्दन तस्करीमा मुछिए

चौतारा । सिन्धुपाल्चोकका माओवादी नेता रक्तचन्दन तस्करीमा मुछिएका छन् । रक्तचन्दन तस्करीको आरोपमा बलेफी गाउँपालिका ८ का ज्ञानबहादुर तिमल्सिना पक्राउ परेका छन् । तिमल्सिनासहित काठमाडौँ १४ का रमेश थापालाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ । उनीहरुलाई प्रहरीले चार सय ३१ किलो रक्तचन्दनसहित पक्राउ गरेको हो ।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकूले उनीहरुमाथि आवश्यक अनुसन्धान भइरहेको जनाएको छ । उनीहरुले रक्तचन्दन कहाँबाट ल्याएका हुन् भन्नेबारेमा प्रहरीले अनुसन्धान सुरु गरेको छ । 

प्रहरीका अनुसार तिमल्सिनाको समूहले यसअघि पनि भारतबाट ल्याएर रक्तचन्दन तातोपानी नाका हुँदै चीनतर्फ तस्करी गर्ने गरेको पाईएको छ । उनीहरुले काठमाडौंको पेप्सीकोलास्थित भाडाको कोठामा रक्तचन्दन भण्डारण गरेको अबस्थामा प्रहरीले बरामद गरेको हो ।

रक्तचन्दन विश्व वन्यजन्तु तथा वनस्पतिको नियमन गर्ने अभिसन्धि (साइटिस) को अनुसूची–२ मा सूचीकृत वनस्पति हो । साइटिस सन्धि गरेको मुलुक भएकाले नेपालमा यसको कारोबार अवैध मानिन्छ ।

प्रकाशित मिति: शुक्रबार, माघ ४, २०८१  १४:५७
प्रतिक्रिया दिनुहोस्
Weather Update