काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले दल विभाजन सम्बन्धी अध्यादेश ल्याउने आफ्नो मनसाय नरहेको स्पष्ट पारेका छन् । सरकारले राजनीतिक दल विभाजन सम्बन्धी अध्यादेश ल्याउन लागेको आरोपको खण्डन गर्दै उनले केही दिनअघि ल्याएको अध्यादेश कुनै दल फुटाउन नल्याइएको बताए ।
नेपाल पत्रकार महासङ्घको नवनिर्वाचित प्रतिनिधिमण्डलसँग प्रधानमन्त्री निवास बालुवाटारमा भेटघाट गर्दै प्रधानमन्त्री ओलीले दल विभाजन गर्न केन्द्रीय समिति वा संसदीय दलमा २० प्रतिशतको प्रावधान राखेर अध्यादेश ल्याउनेहरुले त्यस्तो आरोप लगाउनु लज्जाजनक रहेको टिप्पणी गरे।
‘मलाई अरूको दल फुटाउनु छैन, मैले दल फुटाउन अध्यादेश ल्याएको होइन । मध्यरातमा त्यस्तो अध्यादेश ल्याउन लागियो भनेर हल्ला गरियो । त्योपनि विगतमा केन्द्रीय समिति वा संसदीय दलमा २० प्रतिशत भए दल विभाजन गर्न सक्ने अध्यादेश ल्याउनेहरुले नै त्यस्तो हल्ला गर्ने लज्जाजनक छ ।’
नकारात्मक र भ्रमपूर्ण प्रचार हावी हुँदै गएको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले जिम्मेवार पत्रकारिता गर्न आग्रह गरे ।
सामाजिक सञ्जालको दुरुपयोग गरेर अराजकता फैल्याउने काम भइरहेकोमा उनले चिन्ता व्यक्त गरे। ओलीले स्विस बैंकमा पैसा राखेको भन्ने आफू बिरुद्धको गलत प्रचारको प्रतिवाद गर्दै पुष्टि गर्न समेत चुनौती दिए ।
पत्रकार महासङ्घको टोलीले प्रधानमन्त्री ओलीलाई ६ बुँदे ध्यानाकर्षण पत्र बुझाएको छ । जवाफमा प्रधानमन्त्री ओलीले महासंघको माग कार्यान्वयन गर्न आफू तयार रहेको बताएका छन् ।