Sajha Boli :: Nepal’s Reliable Digital Newspaper
दोलखाको लामाबगरमा दुगड समुहको श्रृंखलाबद्ध लापरबाही

चरिकोट । दोलखाको लामावगरमा जलविद्युत आयोजना निर्माण गरिरहेको एमभी दुगड समुहको लापरबाही पटक पटक दोहोरिन थालेको छ । उक्त समुहको स्वामित्व रहेको नासा हाईड्रोपावरले १६० मेगावाटको लप्चीखोला जलविद्युत आयोजना निर्माण गरिरहेको छ । निर्माण कार्यमा भएको लापरबाहीका कारण दुर्घट्ना निम्तिने गरेको छ । 

आयोजनाको लामावगर–लप्ची पहुँचमार्ग निर्माणका लागि बिस्फोट गराउने क्रममा शुक्रवार तीन जना घाईते भएका छन् । उक्त सडकको हुरहुरे सडक खण्डमा गराईएको बिस्फोटपछि खसेको पहिरोले उनीहरु घाईते भएका हुन् । घाईते हुनेमा विगु गाउँपालिका–१ लामावगरका अन्दाजी ३० वर्षीय दिलकुमार तामाङ लगायत रहेका छन् । पहिरोसँगै आएको ढुुंगा लागेर  दिलकुमार तामाङको दाँया हात भाँचिएको छ । उनको काठमाडौँको ट्रमा सेन्टरमा उपचार भईरहेको छ । अन्य दुई जना सामान्य घाईतेको सदरमुकाम चरिकोटमा उपचार भएको छ । 

गत वर्षपनि सोही सडक निर्माणका लागि बिस्फोट गराउने क्रममा एकजना कामदारले ज्यान गुमाएका थिए । अन्य दुई जना कामदार घाईते भएका थिए । विस्फोटक पदार्थ प्रयोगमा आवश्यक सुरक्षा र सावधानी नअपनाईएपछि दुर्घट्ना भैरहेका हुन् । उक्त सडक निर्माणकै क्रममा तीन जनाले ज्यान गुमाईसकेका छन् । 

दुगड समुहको लापरबाहीका कारण दुर्घट्ना र जोखिम बढेको भन्दै स्थानीयले बारम्बार प्रश्न उठाईरहेका छन् । गत जेठ महिनामा निर्माण क्षेत्रबाट झरेको सुख्खा पहिरोले तामाकोशी नदी थुनिएको थियो । नदी तीन घण्टाभन्दा बढी थुनिँदा तटिय क्षेत्रका स्थानीयमा त्रास फैलिएको थियो । प्रबेशमार्ग निर्माणमा धेरै बिस्फोट गराउँदा सुख्खा पहिरो जाने, भौतिक तथा मानविय क्षति हुने र थप जोखिम बढेको भन्दै स्थानीय चिन्तित छन् । 

दुगड समुहको लापरबाहीका कारण तामाकोशीको बाँध समेत जोखिममा रहेको स्थानीयको भनाई छ । लप्चेखोला माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको बाँध स्थलभन्दा माथिल्लो क्षेत्रमा पर्दछ । उक्त आयोजनासम्म सडक पहुँच पु¥याउन तामाकोशी आयोजनाको बाँधबाट दायाँतर्फ सुरुङसहितको प्रबेशमार्ग निर्माण गरिँदैछ । 

हाइड्रोपावरको नाममा कम्पनीले प्राकृतिक दोहनसँगै मापदण्ड बिपरित काम गर्दा पनि नियामक निकायको ध्यान नगएको भन्दै सरोकारवालाहरुले चिन्ता व्यक्त गरेका छन् । 
 

प्रकाशित मिति: आइतबार, पुस २८, २०८१  ०८:५६
प्रतिक्रिया दिनुहोस्
Weather Update