Sajha Boli :: Nepal’s Reliable Digital Newspaper
टीकापुर जग्गा प्रकरण : ८७ जना दोषी ठहर

काठमाडौँ । कैलालीको टीकापुरस्थित सरकारी जग्गा हिनामिनाबारे अदालतले फैसला सुनाएको छ । उक्त प्रकरणमा विशेष अदालतले ८७ जनालाई दोषी ठहर गरेको हो । विशेषका अध्यक्ष न्यायाधीश टेकनारायण कुँवर तथा न्यायाधीशद्वय तेजनारायणसिंह राई र रितेन्द्र थापाको इजलासले उनीहरुलाई दोषी ठहर गर्दै किर्ते कागजातका आधारमा हक हस्तान्तरण गरिएको झन्डै ७ बिघा जमिन फिर्ता हुने पनि फैसला गरेको छ ।

दोषी ठहर भएका व्यक्तिबाट जनही १३ लाख ७ हजार ३ सय रुपैयाँ जरिवाना असुल्ने फैसलामा उल्लेख छ ।

टीकापुर–१ स्थित टीकापुर नगर विकास समितिका तत्कालीन अध्यक्षलगायतका पदाधिकारी तथा पार्टी प्रतिनिधिको मिलेमतोमा नक्कली कागजात खडा गरी समितिको जग्गा घडेरीका रूपमा आफन्तलगायतका नाममा हक हस्तान्तरण गरेको पाइएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत वर्ष माघमा विशेषमा मुद्दा दायर गरेको थियो ।

अदालतले टीकापुर विकास समितिका अध्यक्ष नेत्रप्रसाद जोशीलाई नक्कली कागजात बनाई भ्रष्टाचार गरेबापत १८ महिना कैद तोकेको छ । संवैधानिक पद दुरुपयोग गरी भ्रष्टाचार गर्नेलाई थप ३ वर्षसम्म कैद हुने कानुनी व्यवस्थाअनुसार उनलाई अरू ३ महिना कैद सजाय थपिएको छ । जोशी नेतृत्वको समितिअन्तर्गत गठित उपसमितिका संयोजक गणेशसिंह रावललाई पनि डेढ वर्ष कैद हुने फैसला छ । बाँकी ८५ जनाका हकमा जनही ३ महिना कैद तोकिएको छ ।

प्रकाशित मिति: शुक्रबार, पुस २६, २०८१  ०७:२९
प्रतिक्रिया दिनुहोस्
Weather Update