Sajha Boli :: Nepal’s Reliable Digital Newspaper
संविधान संशोधन विद्येयकमा जुट्यो सबै दलको सहमति

काठमाडौं । भारतद्धारा अतिक्रमित भूमि समेत समेटिएको निशान छाप परिवर्तन गर्ने सम्बन्धी संविधान संशोधन प्रस्तावमा सबै दलको सहमति जुट्ने देखिएको छ । जनता समाजवादी पार्टी समेत उक्त प्रस्तावको पक्षमा उभिएपछि संसदमा प्रतिनिधित्व गर्ने सबै दलका सहमति जुट्ने देखिएको हो । संविधान संशोधन विधेयकबारे मौन रहेको संसदको तेस्रो ठूलो दल जनता समाजवादी पार्टीले समेत प्रस्तावमा समर्थन जनाएको हो ।

प्रतिनिधिसभाको मंगलबारको बैठकमा कानुनमन्त्री डा .शिवमाया तुम्बाहाम्फेले संविधान संशोधन विधेयक सैद्धान्तिक छलफलका लागि प्रस्तुत गरेकी थिईन् । छलफलमा भाग लिएका दलका सांसदहरुले संविधान संशोधनसँगै अब भूमि फिर्ताका लागि सरकारलाई साथ दिने बताएका छन् ।

नेकपाका सांसद खगराज अधिकारी, कांग्रेसका गगन थापालगायतले यसअघि संसदमा पेश गरेका संकल्प प्रस्तावलाई संयुक्त रुपमा छलफल गराएर पारित गराउनसमेत माग गरेका छन् । निशान छाप परिवर्तन सम्बन्धी विधेयकमा नेकपाको तर्फबाट कृष्णभक्त पोखरेल, कांग्रेसका बालकृष्ण खाँड, जसपाका राजेन्द्र श्रेष्ठले समर्थन जनाएका छन् ।

छलफलमा भाग लिदै जनमोर्चाकी दुर्गा पौडेल र नेपाल मजदुर किसान पार्टीका प्रेम सुवालले विधेयक ल्याएकोमा सरकारलाई धन्यवाद दिदै भूमि फिर्ताको लागि अग्रसर हुन प्रधानमन्त्रीलाई आग्रह गरे ।

प्रकाशित मिति: मंगलबार, जेठ २७, २०७७  १७:४०
प्रतिक्रिया दिनुहोस्
Weather Update