चरिकोट। तामाकोशी पाँचौं जलविद्युत आयोजनाले आफ्ना मागहरु बेवास्ता गरेको भन्दै स्थानीय आन्दोलित भएका छन्।
निर्माणाधीन ९९.८ मेगावाटको तामाकोशी पाँचौँ आयोजना समक्ष स्थानीयले बिभिन्न ११ बुँदे माग राखेका थिए। ती माग पूरा गर्न अल्टिमेटम दिए पनि बेवास्ता गरेको भन्दै स्थानीयले अडिट टुका सबै काम ठप्प पारेका हुन् ।
अडिट टु निर्माण गर्दा विगु गाउँपालिका वडा नम्बर २ मौरेका १० घरपरिवार जोखिममा पर्ने भएका कारण उनीहरूको व्यवस्थापन आयोजनाले गर्नुपर्ने स्थानीयको माग छ। स्थानीय संघर्ष समितिका सहसंयोजक मौरेका स्थानीय अमृतकुमार आचार्यका अनुसार अडिट टुबाट आफ्नो बस्ती जोखिममा रहेको छ। बस्ती ५० मिटर भित्रै पर्दा पनि आयोजनाले माग सम्बोधनमा बेवास्ता गरेकोले आन्दोलनमा उत्रिनु पारेको संघर्ष समितिले जनाएको छ।
समितिले टनेलबाट गौरीशंकर गाउँपालिका– ८, खारेको मन्थली, तातोपानी, टाकापु र लाकुरसिंहका गरी झन्डै सय घरपरिवारसमेत आंशिक जोखिममा पर्ने भन्दै तत्काल समाधानको उचित विकल्प दिन माग गरेको छ । माग पुरा नभई काम अघि बढ्न नदिने संघर्ष समितिको चेतावनी छ ।
मंगलबार जारी गरिएको विज्ञप्तिमा आयोजनासँग पटक–पटक आग्रह गर्न पनि बेवास्ता गरेकाले माग पूरा नहुन्जेल अडिट टुका सम्पूर्ण काम सुचारु गर्न नदिने उल्लेख छ ।
तामाकोशी पाँचौँ जलविद्युत् आयोजनाको प्रवद्र्धक कम्पनी तामाकोशी जलविद्युत् कम्पनी लिमिटेडले स्थानीयका जायज माग पूरा हुने जनाएको छ।