२८ माघ, चरिकोट । नेपाल पत्रकार महासंघ दोलखा शाखाले सदस्यता शुद्धिकरण गर्ने भएको छ । महासंघ जिल्ला कार्यसमितिको मंगलवार बसेको बैठकले शाखा सदस्य रहेका निर्वाचित जनप्रतिनिधि, निजामति कर्मचारी र राजनीतिक दलका प्रदेश र जिल्ला तहका पदाधिकारीको सदस्यता शुद्धिकरण गर्ने निर्णय गरेको हो ।
बैठकले सदस्यता शुद्धिकरणका लागि महासंघ दोलखा जिल्ला शाखाका पुर्व सभापति तथा पुर्व केन्द्रिय सदस्य चिरञ्जिवि मास्केको नेतृत्वमा पाँच सदस्यीय कार्यदल गठन गरेको छ । कार्यदलको सदस्यहरुमा अग्रज पत्रकार राजेन्द्र मानन्धर, लक्ष्मण खड्का, शम्भु गौतम र रमेश खतिवडा रहेका छन् ।
शाखाका अध्यक्ष जिवन लामाले महासंघलाई श्रमजिवी पत्रकारहरुको साझा र व्यवसायिक संस्थाको रुपमा स्थापित गर्न सदस्यता शुद्धिकरण गर्ने निर्णय गरिएको जानकारी दिए । लामाका अनुसार लामो समयदेखि बिदेशमा रहेका, पत्रकारिताबाट निष्क्रिय रहेकाहरुको सदस्यता नविकरण गर्ने या नगर्ने बारेपनि कार्यदलले निर्णय गर्नेछ । महासंघको सदस्यता लिएर पनि निष्क्रिय रहेका सदस्यहरुलाई स्वेच्छिक रुपमा सदस्यता त्याग गर्न आग्रह गरिनेछ ।
पत्रकार महासंघ केन्द्रिय समितिको पछिल्लो कार्यविधि र परिपत्र अनुसार जिल्ला शाखाले सदस्यता शुद्धिकरण गर्ने निर्णय गरेको हो । पत्रकारिता र मत्रकार महासंघमा महत्वपुर्ण योगदान पुर्याएर अग्रज व्यक्तित्वहरुलाई मानार्थ सदस्यता प्रदान गर्ने भएकाले स्वेच्छिक रुपमा साधारण सदस्यता त्याग गर्न सक्नेछन् । पत्रकार महासंघ दोलखा जिल्ला शाखाबाट १ सय ४८ जनाले साधारण सदस्यता लिएका छन् । जसमध्ये केहीको सदस्यता स्थानान्तरण भैसकेको छ ।
बैठकले अर्को महिनादेखि सदरमुकाम चरिकोट स्थित नवनिर्मित भवनबाट कार्यालय संचालन गर्ने निर्णय पनि गरेको छ ।