Sajha Boli :: Nepal’s Reliable Digital Newspaper
लकडाउनको मोडालिटी परिबर्तनसँगै एसईई लगायतका परीक्षाको टुंगो लाग्छ : शिक्षामन्त्री पोखरेल

काठमाण्डौं - शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले एसईई लगायतका परीक्षा कहिले संचालन गर्ने भन्नेबारे टुंगो लगाउने तयारी भैरहेको बताएका छन् । मन्त्री पोखरेलले बन्दाबन्दी (लकडाउन) को मोडालिटीबारे सरकारले निर्णय गरेलगत्तै परीक्षाबारे टुंगो लाग्ने बताए ।

प्रतिनिधिसभा संसद बैठकमा मंगलबार सांसदहरूले राखेका प्रश्नको जवाफ दिँदै शिक्षामन्त्री पोखरेलले यही महिनाभित्र परीक्षाहरूबारे निर्णयमा पुग्ने जानकारी दिए । ‘एसईई नभएकोले विद्यार्थीमा मनोवैज्ञानिक समस्या देखिएको छ,’ विद्यालयमा क्वारेन्टाइन छ । केही केन्द्र थप गरेर एसईई गर्ने कि भन्ने थियो, संक्रमित बढ्दै गएपछि त्यो पनि सम्भव भएन, उनले भने ।’

उनका अनुसार एसईई, कक्षा ११ र १२ तथा विभिन्न विश्वविद्यालय अन्तर्गतका परीक्षाका सन्दर्भमा मन्त्रालयले बन्दाबन्दीको मोडालिटी आएपछि टुंगो लगाउने तयारी गरिरहेको छ । ‘एसईई खारेज गर्ने, विद्यालयलाई दिने, राष्ट्रिय परीक्षा बोर्डले प्रमाणित गर्ने गरी व्यवस्था मिलाउनेजस्ता विकल्पमा छलफल भैरहेको जानकारी पनि उनले दिए ।

प्रकाशित मिति: मंगलबार, जेठ २७, २०७७  १४:१६
प्रतिक्रिया दिनुहोस्
Weather Update