काठमाडौँ । सत्तारूढ कांग्रेस र एमालेले संविधान संशोधनका लागि राजनीतिक संयन्त्र गठन गर्ने तयारी गरेका छन् । त्यसका लागि दुई दलका शीर्ष नेतासहित बालुवाटारमा केही दिनदेखि भएको शृंखलाबद्ध छलफल भैरहेको छ । सरकार निर्माणका बेला दुई दलबीच भएको सहमति अनुसार संविधान संशोधनको गृहकार्य गर्न संयन्त्र गठन गर्ने र सातबुँदे सहमति कार्यान्वयनका लागि ठोस योजना बनाउन दुई दलका नेताहरु गृहकार्यमा जुटेका हुन् ।
संविधान संशोधनको गृहकार्य अघि बढाउन दुई दल सम्मिलित कार्यदल गठन गर्ने निर्णय भएको नेताहरुले जानकारी दिएका छन् । संयन्त्रले नयाँ संविधान कार्यान्वयनको १० वर्षको समीक्षा गर्दै संशोधनका विषय पहिचान गर्ने जनाईएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान संशोधनको विषयमा संयन्त्र निर्माण गर्न खोजिएको जानकारी गराउँदै संसदीय समितिमा विचाराधीन विधेयकलाई ‘फास्ट ट्र्याक’ बाट अघि बढाउने दिशामा काम गर्न नेताहरुलाई निर्देशन दिईसकेका छन् ।