Sajha Boli :: Nepal’s Reliable Digital Newspaper
पत्रकार महासंघको नवनिर्वाचित कमिटीले ग¥यो चार निर्णय

काठमाडौं । नेपाल पत्रकार महासंघले पत्रकार गोपाल दाहालमाथि धम्की आएको विषयमा स्थलगत अध्ययन गर्ने भएको छ । स्थलगत अध्ययन गरी प्रतिवेदन पेस गर्न महासंघले एक टोली खटाउने निर्णय गरेको छ।

नवनिर्वाचित कार्यसमितिलाई मंगलबार पद हस्तान्तरणपछि बसेको पहिलो बैठकले समाचारको विषयलाई लिएर पत्रकार दाहालमाथि ज्यान लिनेसम्मको धम्की आएकोबारे बुझ्न टोली खटाउने निर्णय गरेको हो।

महासंघका महासचिव रामप्रसाद दाहालले समाचारको विषयलाई लिएर पत्रकार गोपाल दाहालमाथि ज्यान लिनेसम्मको धम्की आइरहेको सन्दर्भमा स्थलगत अध्ययन गरी सात दिनभित्र प्रतिवेदन केन्द्रीय समितिमा पेस गर्नेगरी टोली खटाईने जानकारी दिए । महासंघका केन्द्रीय सदस्य कमल रिमालको संयोजकत्वमा खटाईने मिडिया मिसन टोलीमा केन्द्रीय सदस्य शंकर खरेल, वरिष्ठ पत्रकार हर्ष सुब्बा, महासंघ कोशी प्रदेश समितिका अध्यक्ष भरतबहादुर खड्का र महासंघ सुनसरी शाखाका अध्यक्ष सन्तोष काफ्ले सदस्य रहेका छन् । 

साथै महासंघले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता, श्रमजीवी पत्रकारको हकहित र आर्थिक संकट व्यहोरिरहेको नेपाली पत्रकारिता क्षेत्रको संस्थागत विकासका लागि दृढतापूर्वक उभिने प्रतिबद्धता पनि जनाएको छ।

केन्द्र, प्रदेश र स्थानीय तहबाट निर्माण हुँदै गरेका सञ्चारसम्बन्धी कानुनहरूलाई प्रेस स्वतन्त्रतामैत्री बनाउन सम्बन्धित पक्षको ध्यानाकर्षण गराउनुको साथै खबरदारी गर्ने पनि महासंघको निर्णय छ।

प्रकाशित मिति: मंगलबार, पुस ९, २०८१  २१:०७
प्रतिक्रिया दिनुहोस्
Weather Update