Sajha Boli :: Nepal’s Reliable Digital Newspaper
तीन महिनापछि माथिल्लो तामाकोशीबाट विद्युत उत्पादन सुचारु

काठमाडौं । माथिल्लो तामाकोशी जलविद्यूत आयोजनाबाट विद्युत उत्पादन सुचारु भएको छ । बाढीपहिरोबाट क्षतिग्रस्त ४५६ मेगावाटको माथिल्लो तामाकोसी जलविद्युत केन्द्रबाट आंशिकरूपमा विद्युत् उत्पादन सुरु भएको हो । 

गत असोज ११ र १२ गतेको अविरल वर्षाका कारण आएको पहिरोले क्षति पुर्‍याएका संरचनाको आंशिक मर्मतसम्भार गरेर ८८ दिनपछि विद्युत उत्पादन सुरु गरिएको हो । आयोजनाका प्रमुख कार्यकारी अधिकृत मोहन प्रसाद गौतमले मंगलबार बेलुका ७:४० बजेबाट पुनः विद्युत् उत्पादन सुरु गरिएको जानकारी दिए ।

उत्पादित बिजुली राष्ट्रिय प्रसारण प्रणालीमा समाहित गरिएको छ । हाल नदीमा उपलब्ध पानीको बहाबलाई पूर्णरूपमा प्रयोग गरी १२० मेगावाट विद्युत् उत्पादन गरिएको छ ।

अविरल वर्षाका कारण तामाकोसी नदीमा पानीको बहाब उच्च भएपछि गत असोज ११ गते साँझ ७ बजेदेखि केन्द्रबाट विद्युत् उत्पादन बन्द गरिएको थियो । नेपालमा सञ्चालनमा रहेका जलविद्युत्‌गृहमध्ये यो सबैभन्दा ठूलो आयोजना हो । 

प्रकाशित मिति: मंगलबार, पुस ९, २०८१  २०:३८
प्रतिक्रिया दिनुहोस्
Weather Update