Sajha Boli :: Nepal’s Reliable Digital Newspaper
माथिल्लो तामाकोशीबाट विद्युत उत्पादनको तयारी

काठमाडौँ । माथिल्लो तामाकोशी जलविद्युत आयोजनाबाट आगामी पुसमा विद्युत उत्पादन सुरु हुने भएको छ । पुस १० भित्र विद्युत् उत्पादन गर्ने गरी मर्मतसम्भार भैरहेको अयोजनाले जनाएको छ । 

गत असोज ११ र १२ को अविरल वर्षापछि कारण आएको पहिरोले आयोजनामा क्षति पुगेपछि अहिले विद्यूत उत्पादन बन्द छ । दोलखाको बिगु गाउँपालिका–१ लामाबगरस्थित माथिल्लो तामाकोशी जलविद्युत् केन्द्रको बाँध क्षेत्रका संरचना (हेडवर्क्स) मा ठूलो क्षति पुर्‍याएको थियो ।

बाँधस्थल नजिकै रहेको नियन्त्रण कक्ष (कन्ट्रोल रुम) भवन, बालुवा थिग्राउने पोखरी (डिस्यान्डर) र बाँधबाट डिस्यान्डरसम्म पानी पुर्‍याउने भूमिगत नहर (कल्भर्ट) सहितका संरचना बाढीले क्षतिग्रस्त बनाएको हो । 

मर्मतसम्भारको तालिका अनुसार दुईवटा डिस्यान्डरमध्ये बायाँतर्फको डिस्यान्डरको मर्मतसम्भार आगामी पुस १० भित्र सम्पन्न गरी विद्युत् उत्पादन सुरु गरिनेछ । यसका लागि आंशिक रूपमा क्षति पुगेको डिस्यान्डरको पर्खालको पुरानो ढलानलाई भत्काएर मर्मत गरिनेछ । यसैगरी, कर्ल्भटको भित्ता र सिलिङमा देखिएका चिराको ग्राउटिङ गर्ने काम समानान्तर रूपमा अगाडि बढाइनेछ ।

दायाँतर्फको अर्को डिस्यान्डर मर्मत र हाल सतहमा रहेको कन्ट्रोल रुमलाई भूमिगत बनाउन डिजाइन गरी पुनर्निर्माण प्रक्रिया तत्काल अगाडि बढाइनेछ । यो काम आगामी वर्षायाम सुरु हुनुभन्दा अगाडि नै सक्ने लक्ष्य तय गरिएको छ । वर्षाले क्षति पुगेको आयोजनाको विद्युत् प्रवाह गर्ने प्रसारण लाइनको एउटा टावरको मर्मतसम्भार सकिएको छ ।


टोलीबाट आयोजना व्यवस्थापन, परामर्शदाता र निर्माण व्यवसायीसँग छलफल गरी पुस १० भित्र विद्युत् उत्पादन सुरु गर्ने र त्यसको १५ दिनभित्रमा विद्युत् बढी माग हुने पिक समयमा चलाउने गरी मर्मतसम्भार सम्पन्न गर्ने गरी समय तालिका तय गरिएको छ । विद्युत् कम माग हुने समयमा पानी जम्मा गरी आयोजनालाई पिक समयका ४ घण्टा पूर्ण क्षमतामा चलाउन सकिन्छ ।

अविरल वर्षाका कारण तामाकोशी नदीमा पानीको बहाव उच्च भएपछि असोज ११ साँझ ७ बाट विद्युत् उत्पादन उत्पादन बन्द गरिएको थियो । बाँधका सम्पूर्ण ढोका (गेट) खुला गरिएको थियो, जसका कारण आयोजनाका संरचनाको सम्भावित क्षति रोकिएको थियो ।
 

प्रकाशित मिति: मंगलबार, मंसिर २५, २०८१  ०९:४८
प्रतिक्रिया दिनुहोस्
Weather Update