काठमाडौं । झण्डै दुई दशकदेखि पत्रकारितामा रहेका लक्ष्मण थामी नेपाल पत्रकार महासंघको केन्द्रीय सदस्यको उम्मेदवार बनेका छन् । यही मंसिर २८ गते हुने निर्वाचनमा उनी अल्पसंख्यक क्लष्टरबाट केन्द्रीय सदस्यको उम्मेदवार बनेका हुन् । उनलाई देशभरका सबै शाखा तथा प्रतिष्ठानका सदस्यले मतदान गर्न पाउँछन् ।
२०६३ सालबाट पत्रकारितामा प्रबेश गरेका थामी करिब १८ वर्षदेखि निरन्तर पत्रकारितामा क्रियाशिल छन् । दोलखाको रेडियोबाट पत्रकारिता थालेका उनले हाम्रो रेडियो, रेडियो हिमाली, राष्ट्रिय समाचार समिति लगायतका मिडियामा काम गरिसकेका छन् । उनले मोफसलमा साप्ताहिक पत्रिका प्रकाशन गर्नुका साथै केही समय टेलिभिजन रिपोर्टरको रुपमा समेत काम गरे । केही पुस्तकको सम्पादन गरिसकेका थामी अहिले साझाबोली डटकमका प्रधान–सम्पादक हुन् ।
उनले नेपाल पत्रकार महासंघ दोलखा जिल्ला शाखाको सहसचिव र बरिष्ठ उपाध्यक्षको भूमिका निर्बाह गरिसकेका छन् । अघिल्लो पटक पनि उनले सोही क्लष्टरबाट महासंघको केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका थिए ।